हेलिकप्टरमा नेपाली सेनाका २ र अमेरिकी मरिनका ६ गरी ८ सैनिक थिए । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार दुर्घटनाग्रस्त इलाकाको सुरक्षार्थ नेपाली सेना र अमेरिकी मरिनको टुकडीहरू तैनाथ छन् ।
मरिन कोरका लेफ्टिनेन्ट जनरल जोन विस्लरले पनि भिडियो सन्देशमार्फत हेलिकप्टर दुर्घटना र सैन्य क्षतिबारे जानकारी गराएका थिए । खोज तथा उद्धारका लागि वैशाख २९ गते दोलखाको सुनखानी गएको अमेरिकी मरिन सैनिकको यूएच १ वाई हुवे हेलिकप्टर दिउँसोबाट सम्पर्कविहीन भएको थियो । हवाई र पैदल सैनिक टोलीले व्यापक खोजी गरी शुक्रबारमात्रै सिन्धुपाल्चोकको घोर्थली गाविसको करिब ११ हजार २ सय फिट उचाइको विकट स्थानमा दुर्घटनाग्रस्त अवस्थामा हेलिकप्टर फेला पारेको हो ।
सेनाले विभिन्न स्थानमा अलपत्र परेका गोरखाका १४ र दोलखाबाट २ घाइतेसहित ३० गरी ४४ जनाको उद्धार गरेको छ । यसैगरी दोलखाको सिंगटी क्षेत्रबाट ४ जनाको शव उत्खनन गरी निकालेको छ । सेनाले हवाई साधनबाट शनिबारै भूकम्प प्रभावित गोरखा र दोलखा जिल्लाको विभिन्न स्थानमा गरी ६ हजार ८ सय किलो खाद्यान्न र १ हजार ७ सय किलो राहत सामग्री पुर्याएको जनाएको छ ।
सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीहरूले भीमसेन दरबार, त्रिपुरेश्वरस्थित नारायण मन्दिर, शिव मन्दिर, पशुपतिनाथस्थित विश्वरूपा मन्दिर, शंखमूलस्थित जगतनारायण मन्दिर, पाटनस्थित भुःक्षे घर, बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर, भक्तपुरस्थित फसिदेवल क्षेत्र, बालाखु मन्दिर एवम् चाँगुनारायण मन्दिरलगायत पुरातात्विक महत्त्वका संरचनाहरूको भग्नावशेष हटाउने कार्यमा परिचालन भइरहेको जनाएको छ । पुरातात्विक महत्त्वका संरचनाहरूको भग्नावशेषमा रहेका महत्त्वपूर्ण वस्तुहरूको सुरक्षाका लागिसमेत सेना खटिएको छ ।
0 Comments