११ हजार २ सय फिट अग्लो डाँडामा फेला परेको यो हेलिकप्टर यति धेरै दिन बेपत्ता हुनु रहस्यमय बनेको छ । जीपीएस, रेडियो तथा आपतकालीन लोकेटर बेकनलगायत सुविधायुक्त हेलिकप्टर सामान्य राडारले समेत देखिनुपर्ने थियो ।
दुर्घटना कसरी भयो भन्ने सत्यतथ्य सार्वजनिक भएको छैन । अर्ध सैनिक हेलिकप्टरमा पाइलटले क्राय हुँदासमेत के गर्ने भन्ने तालिम पाएका हुन्छन् । यसमा सबै यात्रुका लागि विशेष प्रकारको सुरक्षित सिट समेत हुन्छ । हेलिकप्टर दुर्घटना हुँदासमेत त्यसमा सवारहरु बाँच्ने संभावना रहन्छ । घटना बारे अध्ययन भइरहेको नेपाली सेनाको जनसम्पर्क कार्यालयले जनाएको छ । साढे ३ घन्टा हावामा रहनसक्ने यो हेलिकप्टर आगो लाग्ने संभावनाबाट समेत सुरक्षित मानिन्छ । यसले इमरजेन्सी तथा सेफ ल्यान्डिग गर्न सक्छ ।
करिब ५ टन वजनको उक्त हेलिकप्टरले ३ टन सामाग्री बोक्न सक्छ । रक्षा सचिव इश्वरी पौडेलका अनुसार हेलिकप्टर खोज्न परिचालित नेपाली सेनाको पैदल फौजले जानकारी दिएपछि तत्काल सेनाको लान्सर र इक्युरेल हेलिकप्टर दुर्घटनास्थल तर्फ हानिएका थिए । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार दुर्घटनास्थल सिन्धुपाल्चोक जिल्लाको घोरथली गाविसमा पर्छ । हेलिकप्टरमा २ नेपाली सेना र ६ जना अमेरिकी नागरिक थिए । हेलिकप्टरमा सम्पर्क अधिकृतका रुपमा सेनाका क्याप्टेन तपेन्द्र रावल थिए । अर्का सैनिक जमदार बसन्त तितारा सवार थिए । अन्य ६ अमेरिकी सेनाको परिचय भने खुलाइएको छैन । सेनाले बुधबार र बिहीबार हवाई तथा पैदल खोजी तीव्र बनाएको थियो ।
0 Comments