हिमाली बस्तीबाट हजारौं जना सुरक्षित स्थानतिर लागिसकेका छन्। जिल्ला सुरक्षा समितिले उनीहरूलाई तत्काल सुरक्षित स्थानमा लैजानुपर्ने जानकारी सरकारलाई गराइसकेको छ। बरुवा, बासखर्क, तातोपानी, दुगुना, गोल्चे, गुम्बा, पाङताङ हगाम, हेलम्बु, इचोक, थाङपालकोट, फुलपिङकट्टी, भोताङ, गुन्सा, लिस्ती, पिस्कुर, घोर्थलीलगायतका गाविस बढी जोखिममा छन्। लिस्तीमा मात्रै डेढ सय बढी घर ध्वस्त भएका छन्। उनीहरू पहिरोको जोखिमले त्यहाँ फर्कन सकेका छैनन्।
पहिरो गएपछि गाउँलेहरूले चौपाया फुकाएर छाडेका छन्। बालीनाली चौपायालाई खुवाएका छन्। सरकारले कहिले सुरक्षित स्थानमा लैजान्छ भनेर प्रतीक्षामा छन् उनीहरू। ‘हामीलाई राहत चाहिँदैन, गाउँ छाड्न पाउँm,’ बरुवाकी महिता तामाङले भनिन्, ‘पहिरो चलिरहेको छ, बस्ती सबै धाँजा फाँटेको छ।’ बरुवाको वोल्दे, रिपार, याङरी तथा मोताङको लार्केवासी धमाधम गाउँ छाड्न थालेका छन्। बरुवावासीे चौपाया फुकाएर एकै थलोमा बसिरहेका छन्। मकैका बोट सबै गाईवस्तु र बाख्रालाई खुवाएका छन्। महिताले भनिन्, ‘ज्यानकै जोसखम छ भने बाली किन चाहियो?’ स्थानीय स्वास्थ्य चौकीकी मासिका पेम्बा तामाङले भनिन्, ‘यो गाउँमा त अब कोही बस्दैनन्।’ उद्धारमा खटिएको प्रहरीका लागि बरुवाको अवस्था चुनौती बनेको छ। मेलम्चीका निरीक्षक चन्द्रबहादुर थापाले भने, ‘त्यहाँको अवस्था साह्रै दर्दनाक छ। उनीहरू खान जे गरे पनि गरौंला भन्दै अरू ठाउँ लैजान माग गरिरहेका छन्।’
पछिल्लो दिन राहत लिएर बोलगाउँ हुँदै घर फर्केका याङरी र रिपारवासी पहिरोमा परेका थिए। पहिरो चलेपछि उनीहरू राहत छाडेर भागेका थिए। उनीहरूले छाडेको राहत बोलगाउँवासीले भेटेर राखेका थिए।
पीडा एउटा गाउँमा मात्र छैन। हेलम्बु—१ ठूलोढुंगेकी ८३ वर्षीय घ्याल्मु लामाले गहभरि आँसु बनाउँदै भनिन््, ‘कति बेला मरिन्छ थाहा छैन।’ गाउँ आएका नाति दावा ग्याल्जेनलाई उनले भनिन्, ‘गाउँ सबै फुट्यो कति बेला मरिन्छ थाहा छैन।’ उनी कुरा गर्दा नातिसँग थरथर काम्दै थिइन्। चाउरी परेका गालाभरि आँसु बगाएकी घ्याल्मु त्यो गाउँकी प्रतिनिधि पात्र मात्र हुन्। स्थानीय विद्यालयका अध्यक्ष दाम्जे लामाले भने, ‘२० परिवारले आफ्नो पुरानो थलो छाडेर सुरक्षित स्थानतिर लागेका छन्।’ तिब्बती सिमानासँग जोडिएको तातोपानी दुगुनाका डेढ सय जना पहिरो छल्दै बिहीबार भागाभाग गर्दै स्थानीय गुम्बाडाँडामा पुगेका छन्।
नेपाल—चीन युद्धका बेला बनाएको दुगुनागडीको डाँडा खस्न थालेपछि उनीहरू बढी त्रसित बनेका थिए। ‘दुगुनाको पूर्वीडाँडाबाट लगातार सुख्खा पहिरो खसिरहेको छ,’ स्थानीय विले शेर्पाले भने, ‘ज्यान जोगाएर डाँडातिर लागेका छौं।’ उनीहरूले आफूहरूलाई ओत र खानको व्यवस्था गर्न आग्रह गरेका छन्। बिहीबार साँझ परेकाले उनीहरूलाई राहत पुर्याउन नसकिएको जानकारी प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्ञवालीले दिए। दुगुनागडी भासिएको छ। यसबाट त्रसित हुँदै स्थानीय अन्यत्र गएका छन्। बिहीबार दिनभर कोसिस गर्दा पनि गढी गाउँ र सुख्खा बन्दरगाह क्षेत्रमा हेलिकोप्टर बस्न नसकेको जानकारी सेनाले दिएको छ। सेनाको चौतारा कमान्डले दिएको जानकारीअनुसार पहिरो लगातार चलिरहेकले हेलिकप्टरका पाइलटले त्यहाँ बस्न नसक्ने बताएका थिए।
तातोपानी बजार खाली भइसकेको छ। उनीहरू राजधानी गइसकेका छन्। गाउँमा रहेका तातोपानीवासी स्थानीय चौकीडाँडामा बसेका छन्। हेलम्बुको मेलम्चीघ्याङ डाँडा चिराचिरा भएर फुटेपछि त्यहाँ प्रहरीसमेत पुग्न कठिन भएको छ। यी केही उदाहरण मात्र हुन्। निर्वाचन क्षेत्र नं. तीनका सभासद शेरबहादुर तामाङले भने, ‘जिल्लाको पश्चिमी भेकका हिमाली गाउँका बासिन्दालाई सुरक्षित स्थानमा नलगे उनीहरूको ज्यान कुनै पनि बेला जान सक्छ। त्रसित उनीहरूले राहतभन्दा सुरक्षा खोजेका छन्।’ जिल्ला सुरक्षा समितिले बिहीबार सिन्धुपाल्चोक आएका प्रधानमन्त्री सुशील कोइरालालाई तत्काल बस्ती सार्ने व्यवस्था मिलाउन आग्रह गरेको छ। कतै पानीका मुहान सुकेका छन् भने कतै मूल फुटेका छन्। विशेषत: उत्तरी भेकका सबै गाउँ प्रभावित भएको छ। जिल्लाका हरेक डाँडामा पहिरो गएको देखिन्छ। यहाँ आएका गृहमन्त्री वामदेव गौतमले खतरामा परेकालाई तत्काल सुरक्षित स्थानमा सार्न जिल्ला उद्धार समितिलाई बिहीबार निर्देशन दिएका छन्। एमाओवादी सभासद अग्निप्रसाद सापकोटाले भने, ‘उत्तरी गाउँका लिदी, कात्तिके, नाम्फा, तेम्बाथान, निबुगाउँका बासिन्दालाई त्यहीँ छाड्नु भनेको उनीहरूको ज्यानको सुरक्षा नदिनु हो। पहिले सुरक्षा अनि राहत। गाउँको अवस्था कहालीलाग्दो छ। यस्ता खतरा स्थान धेरै ठाउँमा छन।’
बन्दरगाहका प्रहरीको उद्धार
तातोपानीको सुख्खाबन्दरगाहमा बसिरहेका सीमा प्रहरीको २२ जनाको टोलीलाई बिहीबार बाह्रबिसे लगिएको छ। सुख्खा पहिरोका कारण उनीहरू त्यहाँ जोखिममा परेका थिए। दास्रो भूकम्पपछि चारैतिरबाट पहिरो झरेपछि उनीहरूलाई तीन दिनदेखि उद्धारको कोसिस गरिएको थियो। गोरखनाथ गणका प्रमुख सुरेश कार्कीका अनुसार बिहीबार तातोपानीलगायतका स्थानमा फसेका ५२ जनाको उद्धार गरिएको छ। तातोपानी र लिस्तीका चार घाइतेको उद्धार गरिएको छ। यसैगरी जिल्लाको तीन स्थानमा हेलिकोपटरबाट खाद्यान्न खसालिएको छ।
जताततै सडक अवरुद्ध
भूकम्पले पहिरो चलेपछि अरनिको राजमार्गलगायत जिल्लाका ग्रामीण सडक प्राय: अवरुद्ध छ। चीनसँग जोडिएको बाह्रबिसे—तातोपानी खण्ड सडक अवरुद्ध छ। उक्त सडकको पहिरो चिनियाँले पन्छाइरहेका छन्। पछिल्लो भूकम्पका कारण उनीहरू पनि त्रसित भएर काम रोकेका छन्। उनीहरूले फेरि काम थाल्ने जानकारी प्रहरीले दिएको छ। पूर्वी भेकको घोर्थली, पिस्कर, तौथली, मानेश्वारा, लिस्ती, फुलपिङकट्टी जाने सडक अवरुद्ध छ।
पश्चिम भेकको हेलम्बु, किउल, भोताङलगायतका स्थानमा जाने सडक अवरुद्ध छ। जलविरे—भोताङ सडकमा पहिरो गएको छ। पहिलो भूकम्पले क्षतविक्षत बनाएको सडक सुचारु भएको थियो। दोस्रो भूकम्पले थप क्षति पुर्याएको छ। स्थानीय विकास अधिकारी युवराज कट्टेलका अनुसार सडक खुलाउने प्रयास भइरहेको छ।
0 Comments