१. सरकार र राजनीति
भूकम्पको प्रभाव अब नेपालको राजनीति र सरकारमा समेत पर्ने देखिन्छ । सरकार कमजोर हुने र विदेशी शक्तिहरको चलखेल बढ्ने एकातिर लक्षण देखएकिो छ भने अर्कोतिर विपक्षीलाई समेत विश्वासमा लिन राष्ट्रिय सरकार बन्ने वातावरण पनि देखिना थालेको छ । यसले अहिलेसम्म मिल्न नसकेका दलहरुलाई एक बनाउन सक्छ । बुधबारमात्रै सुशील, केपी र प्रचण्डले एउटै हेलिकोप्टरमा चढेर नयाा राजनीतिक संकेत दिएका छन् । संविधान बन्न नसकिरहेको अवस्थामा अब यो भूकम्पको विपत्तिका कारण संविधान निर्माण केही पछि धकेलिन सक्ने र कोइराला सरकारको आयु लम्बिने एकातिर सम्भावना छ भने अर्कातिर विवादित विषयमा सहमति जुट्ने सकारात्मक संभावना पनि उत्तिकै छ । भूकम्पका कारण ग्रामीण विकाससम्धन्धी एकीकृत विकासको बहस सुरु भएको छ, यसले नेपालमा अब भन्ने संघीयता र राज्यको पुनसंरचनाको विषयलाई पनि उलट-पुलट हुने गरी खल्बल्याइदिएको छ । भूकम्पका कारण अब नेपालका विभिन्न नीति निर्माणमा असर गर्नेछ । विभिन्न ऐन कानूनहरु परिमार्जन र संशोधन हुनेछ । कतिपय नयाँ कानूनहरु बन्नेछन् ।
२. बजेट
सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणको करिब ६० प्रतिशत काम गरिसकेको थियो । तर, भूकम्पका कारण बजेट निर्माण प्रक्रियामा असर परेको अर्थ मन्त्रालयका बजेट महाशाखाका प्रमुख बैकुण्ठ अर्यालले जानकारी दिए ।
आर्थिक वर्ष ०७२/०७३ का लागि राष्ट्रिय योजना आयोगले ७ खर्ब ३५ अर्ब रुपैयाँको बजेट बनाउन सरकारलाई सिलिङ तोकिसकेको छ । अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयलाई बजेटको सिलिङ दिइसकेको र मन्त्रालयहरुले आफ्ना निकायलाई सिलिङ दिइसकेका थिए भने सिलिङभित्र रहेर कार्यक्रमहरु पनि तयार गरिसकेका थिए । तर, भूूइँचालोले बजेटको सिलिङ भत्काएको छ ।
३. विकास
भूकम्पका कारण सरकारले राहत र पुननिर्माणमा खर्ब बढी खर्च गर्नुपर्ने भएकाले विकास/निर्माण र अन्य शीर्षकको बजेट कटौती हुने भएको छ । बजेट कटौतीसँगै नयाँ विकास निर्माणका कामहरु केही वर्षका लागि सुस्त गतिमा अघि बढ्ने निश्चित छ । अब विकास बजेटको प्राथमिकता परिवर्तन भएको राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रेम दंगाल बताउँछन् । राष्ट्रिय गौरबका ‘पी वान’ आयोजनाहरु अब दोस्रो प्राथमिकतामा पर्ने र पुनःनिर्माणको काम पहिलो प्राथमिकतामा पर्ने दंगालले जानकारी दिए ।
नेपालको विकासमा भूकम्पले निकै ठूलो धक्का लागेको छ । अघि बढ्नुपर्ने बेलामा अब पुनर्निमाणको निकै ठूलो परियोजनामा केही वर्ष अल्मिलिनुपर्ने अवस्था आएको छ । राष्ट्रपति भवन, सर्वोच्च अदालत जस्ता प्रशानिक निकायहरु बनाउनुपर्ने दायित्व थपिएको छ । ऐतिहासिक धरोहरमा अरबौं गानी गर्नुपर्ने स्थिति आएको छ ।
४. बैंकिङ क्षेत्र
महाभूकम्पका कारण केही दिन ठप्प बनेको बैंकिङ क्षेत्रको सेवा अहिले सहज भएको छ । तर, अझै पनि कतिपय बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरु खुल्न सकिरहेका छैनन् । कति शाखा र एटिएमहरु बन्द छन् भन्ने यकिन तथ्याकं नभए पनि देशभर गरी सयभन्दा बढी शाखाहरु अझै सञ्चालनमा आउन नसकेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । ‘भूकम्पले पुर्याएको क्षति र समाधानको उपायबारे यथाशीघ्र जानकारी गराउन हामीले बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गरिसकेका छौं ।’ राष्ट्र बैंकका प्रवक्ता डा. मीनबहादुर श्रेष्ठले अनलाइनखबरसँग भने- ‘अहिले नै अवस्था यस्तो छ भनेर भन्न सक्ने अवस्था छैन । बिवरण आएपछिमात्रै निर्णय हुन्छ ।’ राष्ट्र बैंकको बैंकिङ कार्यालय अर्थात नोट राख्ने ठाउँ, गभर्नरको कार्यालयलगायतका स्थान बस्न नमिल्ने गरी भत्किएको श्रेष्ठले जानकारी दिए । ‘राष्ट्र बैंकको कति क्षति भयो भनेर प्रतिवेदन तयार गर्न एक उपसमिति गठन गरिसकिएको छ’ श्रेष्ठले भने । राणाकालीन संरचना भएकाले यसको मूल्यांकन कठिन भएको उनले जानकारी दिए ।
५. पर्यटन
भूकम्पको सबैभन्दा ठूलो प्रभाव मुलुकको पर्यटन क्षेत्रमा परेको छ । भूकम्पका कारण अहिले प्रमुख पर्यटकीय गन्तव्यहरु सुनसान देखिएका छन् । मुलुक भ्रमणमा आएका पर्यटक आ-आफ्नो मुलुक फर्किएका छन् । भ्रमणमा आउने तयारीमा रहेका पर्यटकहरुले पनि नेपाल भ्रमण रद्द गरेको होटल व्यवसायी बताउँछन् । अहिले राजधानीसहित पर्यटकीय गन्तव्यमा रहेका होटलहरु खाली छन् । होटल संघ नेपालका महासचिव विनायक शाहका अनुसार अधिकांश पर्यटकले होटल बुकिङ रद्द गरिसकेका छन् । भूकम्पको यो प्रभाव नेपाली पर्यटन क्षेत्रमा लामो समय रहने देखिन्छ । तेस्रो मुलुकबाट आउने पर्यटकका लागि आगामी सिजनको ढोका बन्द भएको छ । छिमेकी मुलुक भारत र चीनबाट आउने पर्यटक पनि ३/४ महिना नेपाल भ्रमणमा नआउने निश्चित देखिन्छ ।
पर्यटकसँग जोडिएको होटल व्यवसाय, ट्रेकिङ, क्लाइम्बिङ, र्याफि्टङ, प्याराग्लाइडिङ, पर्यटक बस सेवा, बञ्जी, अल्ट्रालाइट, हिमाल आरोहण लगायतका व्यवसायहरु ठूलो समस्या पर्ने देखिएको छ । लाङटाङ क्षेत्र ध्वस्त भएको छ । सगरमाथा आरोहणको मौसमका बेला प्रतिकूल असर परेको छ ।
६. शिक्षा
भूकम्पबाट मुलुकको शैक्षिक क्षेत्रमा ठूलो क्षति भएको छ । भूकम्पको झड्काबाट ठूलो संख्यामा स्कुल तथा कलेजका भवनहरु भत्किएपछि शैक्षिक क्षेत्र मारमा परेको हो । विपत व्यवस्थापनमा काम गर्दै आएको बैंककस्थित एशियन विपत तयारी केन्द्र (एडीपीसी)ले भूकम्पबाट ४५ सय विद्यालयमा क्षति पुगेको प्रतिवेदन सार्वजनिक गरेको छ । भूकम्पको प्रभाव शहरी विद्यालयमा भन्दा ग्रामीण क्षेत्रका विद्यालयमा परेको छ । लाखौं विद्यार्थी विद्यालय जान नपाउने अवस्थामा पुगेका छन् ।
विद्यालय स्तरको नयाँ शैक्षिक सत्र सुरु हुने बेलामा भवन भत्किएपछि लाखौं विद्यार्थीको भविष्य अन्योलमा परेको छ । एडीपीसीका अनुसार क्षतिग्रस्त ४५ विद्यालयमध्ये १२ सय ९७ विद्यालयमात्र तत्काल पुनर्निमाण गरेर पठन पाठन सुचारु गर्न मिल्ने खालका छन् ।
बाँकी भवनहरु तत्काल पुनर्निमाण गर्न नसकिने अवस्थामा रहेको एडीपीसीको रिपोर्ट बताउँछ । क्षतिग्रस्तमध्ये ३ सय ५२ विद्यालय भवन पूर्णरुपमा ध्वस्त भएका छन् । अधिकांश स्कुल कलेजका भवनहरु पुराना र जीर्ण भएको हुँदा धेरै क्षति हुन पुगेको हो ।
छिटोभन्दा छिटो पठन पाठन सञ्चालन गर्न नसके विद्यार्थीहरु नकरात्मक बाटोमा लाग्नसक्ने पूर्वसचिव रामेश्वर खनाल बताउँछन् । तर, भत्किएका विद्यालय तथा कलेजहरु हेर्दा तत्काल पठनपाठन सञ्चालन गर्न सक्ने अवस्था देखिदैन ।
सरकारले वैशाख महिनाभरि विद्यालय बन्द गरे पनि जेठबाट पनि पढाई सुचारु हुने सम्भावना देखिदैन । वर्खाको समय भएको हुँदा बाहिर चौरमा राखेर पनि पठाउन सकिने अवस्था छैन् ।
७. स्वास्थ
भूकम्पका कारण मुलुकको स्वास्थ्य क्षेत्र पनि निकै प्रभावित भयो । एडीपीसीका अनुसार भूकम्प प्रभावित विभिन्न जिल्लाहरुमा ६ सय ९९ स्वास्थ्य संस्थाको भवन भत्किएका छन् । भवन भत्किने अधिकांश स्वास्थ्य संस्थाहरु ग्रामीण क्षेत्रका हुन् । शहरी क्षेत्रमा रहेका सुविधासम्पन्न अस्पतालहरु पनि भूकम्पबाट भत्किएका तथा चर्किएका देखिन्छन् । क्षतिग्रस्त ६ सय ९९ स्वास्थ्य संस्थामध्ये एक सय ९० स्वास्थ्य संस्थाका भवनहरु तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने अवस्थामा छन् । ४६ वटा स्वास्थ्य संस्था भत्किएर पूर्णरुपमा क्षतिग्रस्त भएको प्रतिवेदनले देखाउँछ ।
बाँकी स्वास्थ्य संस्था पनि तत्काल मर्मतसम्हार गरेर सञ्चालनमा ल्याउन मिल्ने खालका नरहेको बताइएको छ । भूकम्पका कारण सबैभन्दा बढी ग्रामिण क्षेत्रका वासिन्दा स्वास्थ्य सुविधाबाट बञ्चित हुने भएका छन् ।
भूकम्पको बेला सबैभन्दा बढी आवश्यक पर्ने स्वास्थ्य सेवा भवन भत्किँदा लथालिंग भएको छ । पाल टाँगेर स्वास्थ्य सेवा उपलब्ध गराउन पनि समस्या नै रहेको छ, भवनको पुनर्निमाण गरेर सेवा पुर्याउन लामो समय लाग्ने देखिन्छ । अब अपांगहरुको संख्या ह्वात्तै बढ्नेछ, जसले सामाजिक क्षेत्रमा निकै ठूलो प्रभाव पार्ने छ ।
८. अपार्टमेन्ट
महाभूकम्पले राजधानीका अधिकांस अपार्टमेन्टहरु चर्काएको छ । आधाभन्दा बढी अपार्टमेन्टमा बसोबास गर्न नमिल्ने प्रारम्भिक अनुमान छ । सहरी विकास तथा भवन निर्माण विभागको विज्ञ टोलीले उपत्यकाका १५ अर्पाटेमन्टकोे प्रारम्भिक निरीक्षण गरेकोमा १० वटा अपार्टमेन्ट विस्तृत मर्मत गरेपछि मात्रै बस्न मिल्ने सुझाव दिएको छ । उपत्यकामा ६ दर्जन अपार्टमेन्ट छन् ।
पछिल्लो समय व्यवस्थित बसोबासका लागि महत्वपूर्ण बन्दै गएको अपार्टमेन्ट महाभूकम्पपछि त्रासदीपूर्ण बनेको छ । अपार्टमेन्टहरु अग्ला भएकाले धेरै अपार्टमेन्ट धनीहरु अझै पनि अपार्टमेन्टभित्र बस्न सकिरहेका छैनन् ।
अन्य दृष्टिकोणले सुरक्षित ठानिएको अपार्टमेन्टको बसाइ भूकम्पीय दृष्टिकोणले निकै जोखिमपूर्ण बनेको छ । त्यसैगरी, धेरै अपार्टमेन्टहरुको पूर्ण बीमा नभएकाले अपार्टमेन्टमा गरिएको लगानी पनि अन्योलमा पर्ने संभावना बढेको छ । घरजग्गा व्यवसायमा करिब पाँच खर्ब लगानी छ ।
९. सेयर बजार
भूकम्प आएदखि सेयर कारोबार ठप्प भएको छ । सीडीएस एण्ड क्लियरिङमा र केही सेयर दलाल कम्पनीरुमा भौतिक क्षति भएकाले सेयर कारोबार खुलाउन नसकिएको नेपाल स्टक एक्सचेञ्जका महाप्रबन्धक सीताराम थपलियाले जानकारी दिए । ‘सेयर बजार छिटोभन्दा छिटो खोल्न सीडीएसको मर्मत गर्न लागेका छौं ।’ उनले भने-ब्रोकर कम्मनीमा इन्जिनियर गएर क्षतिको विवरण लिने तयारी भइरहेको छ भने उनीहरुका कर्मचारी पनि काठमाडौं फर्किन थालेका छन् ।’ कामदार नपाउने समस्या भएकाले भौतिक क्षतिको पुननिर्माण गर्न कठिन भइरहेको उनले बताए । बजार खुलेपछि भूकम्पको असर पर्ने सेयर विश्लेषक रविन्द्र भट्टराई बताउँछन् । ‘भूकम्पले अर्थतन्त्रमा असर गर्छ, सेयर बजार पनि अर्थतन्त्रकै अंग भएकाले सेयर बजारमा असर पर्ने नै भयो ।’ उनले भने । भूकम्पले सबैभन्दा बढी असर बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीलाई गरेको उन भनाइ छ । ‘बीमा कम्पनीहरुको दाबी भुक्तानी बढेको छ भने घर धितोमा दिएको बैंकहरुको कर्जा तत्काल नउठ्ने भएकाले संभावित जोखिम व्यवस्थाका लागि मोटो रकम छुट्याउनु पर्ने भएकाले नाफामा असर गर्छ ।’ उनले भने । वैशाख १० गते बजार बन्द हुँदा नेप्से परिसूचक ९ सय ३८ अंक थियो भने नेप्सेमा बैंकिङ र ब्रीमाको हिस्सा ७८ प्रतिशत थियो ।
१० व्यापार व्यवसाय
भूकम्पका कारण धेरैका व्यापार व्यवसाय चौपट भएका छन् । तर, कतिपय नयाँ व्यवसायका सम्भावनाहरु खुलेका छन् । लाखौं घर भत्किएकाले नेपालमा मजदुरको माग र मूल्य दुबै बढ्ने सम्भावना छ । मदजुरको अभाव हुने स्थिति छ । त्यस्तै घर बनाउने मिस्त्री, निर्माण सामाग्री आदिको व्यवसाय फस्टाउने स्थिति बनेको छ । हाउजिङ व्यवसाय, अपार्टमेन्ट, घरजग्गा कारोबार आदिमा थप मन्दी र संकट आउने देखिन्छ । एनजिओ आएनजीओहरुको सेवामूलक भन्दा पनि फस्टाउने स्थिति बनेको छ । रोजगारीका नयाँ सम्भावनाहरु सिर्जना हुने र कतिपय रोजगारीको ढोका बन्द हुने सम्भावना देखिएको विज्ञहरु बताउँछन् ।
0 Comments