१० जेठ, काठमाडौं । पहिरोले थुनिएको कालीगण्डकी नदी खुलाउनेबारे अध्ययन गर्न गएको विज्ञसहितको टोली पर्ख र हेरको अवस्थामा पुगेको छ ।
जलविज्ञान विज्ञ, भूगर्भविद र नेपाली सेनाको प्राविधिकसहितको टोली आइतबार काठमाडौंबाट हेलिकोप्टरमा म्याग्दी गएको छ । सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलका अनुुसार अहिले पनि त्यहाँ सुख्खा पहिरो झर्ने क्रम रोकिएको छैन ।
अनलाइनखबरसँग कुरा गर्दै पोखरेलले भने-केही समय अझै कुर्नुपर्छ, ओभर फ्लो भएर नदी आफैं खोलिने सम्भावना पनि छ ।’
तर, पहिरो अहिले पनि झरिरहेको छ । सिन्धुपाल्चोकको जुरेमा गत वर्ष गएको पहिरोजस्तै स्थिर भइनसकेकाले नदी थुनिएर बनेको ताल खोल्न केही समय कुर्नुपर्ने उनले बताए । कालीगण्डकी नदी थुनिएर माथितिर ताल बन्दै गएको छ भने तलतिरको क्षेत्र सुकेको छ ।
प्रधानमन्त्री सुशील कोइरालाले आइतबार बिहान बालुवाटारमा पत्रकारसँग कुरा गर्दै नदी खोल्न सुरक्षाकर्मी र प्राविधिकको टोली पठाइसकेको जानकारी गराएका थिए । टोलीले आजै नदी खोल्ने प्रधानमन्त्रीले आशा व्यक्त गरेका थिए ।
म्याग्दीको राम्चे गाविस-९ मा पहिरो खस्दा मध्यरातदेखि कालीगण्डकी थुनिएको हो । नदी थुनिएर ताल बनेको छ जुन, यो एक किलोमिटरभन्दा बढी क्षेत्रमा फैलिइसकेको छ ।
पहिरोले नदी थुनिएर ताल बनेपछि बेनीसहितका दर्जनौं बस्तीहरु जोखिममा परेका छन् । जोखिमयुक्त क्षेत्रका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।
0 Comments