८ जेठ, काठमाडौ । भूकम्पप्रभावित जिल्लाका शिक्षक तथा विद्यार्थी दुवैलाई परामर्श दिएर मात्रै विद्यालयमा पठनपाठन सुरु गरिने भएको छ । शिक्षक, विद्यार्थी सबै मानसिक तनावमा रहेका कारण उनीहरुलाई परामर्श दिन लागिएको हो । विद्यालय खुलेपछिका केही दिन पठनपाठनभन्दा परामर्शलाई प्राथमिकता दिइने शिक्षा विभागले जनाएको कारोबार दैनिकमा खबर छ ।
वैशाख १२ को भूकम्पपछि लगातार आइरहेका पराकम्पले विद्यालयमा क्षति पुर्याएपछि जेठ १५ सम्म बन्द गरिएको थियो । यद्यपी भूकम्पले प्रभाव नपारेका १४ जिल्ला बाहेकका विद्यालयमा अध्यापन जारी छ ।
भूकम्पले भौतिक संरचनामा क्षतिसँगै शिक्षक र विद्यार्थीमा त्रास उत्पन्न गराएकाले सवै विद्यालयको अवलोकन गरेर परामर्शलाई प्राथमिकता दिने विभागका निर्देशक खगेन्द्र नेपालले बताए ।
भूकम्पपछि दैनिकजसो आउने पराकम्पले विद्यार्थीमा त्रास बढेकाले मनोवैज्ञानिक परामर्श दिएरमात्र अध्यापन सुरु गर्ने तयारी भइरहेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का महासचिव डीके ढुंगानाले बताए ।
0 Comments