जलेश्वर अस्पतालका अनुसार शिवप्रकाशको पाखुराको हाड भाँचिनुका साथै कुहिनो ‘डिस्लकेट’ भएको छ । चिकित्सकको सिफारिसमा शुक्रबारै उनलाई भारतको सीतामढी लगिएको छ ।
पारिवारिक स्रोतका अनुसार काठमाडौंबाट फर्केदेखि भुइँचालोको त्रासले उनी राति पनि राम्ररी सुत्दैनन् । ओछ्यानमा पल्टे पनि आँखा लोलाइरहन्छ । दिउँसो पनि टोलाइरहन्छन् । बालसुलभ चञ्चलता हराएको छ । खाना पनि छाडेका छन् ।
अस्पतालका चिकित्सक सतिसकुमार साहका अनुसार महाभूकम्प र त्यसपछिका पराकम्पनले सबैभन्दा बढी असर सर्वसाधारणको मनस्थितिमा पारेको छ । यही कारण अहिले अस्पतालमा दैनिक २० देखि ३५ जनासम्म भुइँचालोबाट प्रभावित बिरामी आउने गरेका छन् । शुक्रबार पनि त्यस्ता २० भन्दा बढी बिरामी आएको उनले बताए ।
‘भूकम्पको कम्पनले मान्छेको मनस्थितिमा बढी प्रभाव पार्छ,’ शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै डा. साहले भने, ‘यसले मस्तिष्कमा रहेको ‘डोपुमिन’ सक्रिय हुन्छ र त्यसपछि निस्कने रसायनले मानसिक तनाव बढाउँछ ।’
डा. साहका अनुसार मानसिक तनावको सीधा प्रभाव मुटुको गति, रक्तचाप र कतिपय अवस्थामा श्वासप्रश्वासमा समेत पर्ने गर्छ । यसबाट भुइँचालोलगत्तै रिंगटा लाग्ने, बेहोस हुने, जीउ काम्ने, निद्रा नपर्ने, त्रासमा रहने, खिन्नता बढ्ने, घबराहट हुनेजस्ता ‘सिस्मो फोबिया’ देखा परेको उनले बताए । ‘यस्तो अवस्थामा बेहोस हुने र उपचारमा नल्याए हृदय गति बन्द भई मृत्युसमेत हुन सक्ने खतरा रहन्छ,’ डा. साहले भने ।
स्वास्थ्यकर्मी जयनारायण मण्डलका अनुसार भूकम्पको कम्पनपछि जलेश्वर अस्पतालको आकस्मिक कक्ष यस्ता बिरामीले भरिने गरेका छन् । शुक्रबारको पराकम्पनबाट त्रस्त सुगा गाविसकी ३५ वर्षीया कौशल्यादेवीलाई बेहोस अवस्थामा अस्पताल ल्याइएको थियो । आगेपुर १ की मोकिमा खातुन र रतवाराका ६० वर्षीया धनवन्ती देवीलाई चक्कर आउने समस्या बढेपछि उपचारका लागि भर्ना गरिएको छ । अस्पतालकी आकस्मिक कक्षकी अनमी शेहनाज खातुनका अनुसार लडेर अंगभंग भएर उपचार गर्न आउनेको संख्यासमेत भुइँचालोपछि बढ्ने गरेको छ ।
‘सिस्मो फोबिया’ बाट पीडित ग्रामीण भेगका स्वास्थ्य संस्थामा समेत बिरामी बढेको स्थानीय स्वास्थ्यकर्मीले जनाएका छन् । चिकित्सकले यस्ता बिरामीलाई उपचारपछि परामर्शसमेत गर्ने गरेका छन् । डा. साहले बिरामीलाई नडराउन, होहल्लाको पछि नलाग्न, सजग र सतर्क रहन तथा भुइँचालोपछि स्वास्थ्य समस्या बढे अस्पताल तथा चिकित्सकको सम्पर्कमा जान सल्लाह दिने गरेको उनले बताए ।
‘महाभूकम्पपछि मुलुकको ध्यान हताहत, भौतिक संरचना क्षति, उद्धार तथा राहत वितरणमा केन्द्रित भएका बेला भुइँचालोले आम नागरिकको स्वास्थ्यमा पारेको समस्या ओझेलमा छ,’ सामाजिक अभियन्ता तथा रतौली युवा क्लबका अध्यक्ष बैधनाथ चौधरीले भने, ‘आम नागरिकको यस्ता पीडाप्रति राज्य संवेदनशील नहुनु थप पीडा हो ।’
0 Comments