Breaking News

6/recent/ticker-posts

Header Ads Widget

काजक्रिया बस्दै दुई किशोरी आमा, दिदी अनि दाजुको


‘म बिरामी भइराख्छु, नर्स बन्नुपर्छ, आमा भन्नुहुन्थ्यो’ गोकर्णस्थित मन्दिर परिसरमा क्रिया बसेकी सुस्मिता पण्डितले आमाको भनाइलाई स्मरण गर्दै भनिन्, ‘दिदी बहिनी नर्सिङ अध्ययन गर्नेछौं ।’

भूकम्पमा परी मृत्यु भएका आमा साननानी, दिदी सीता र दाजु समिर पण्डितको काजक्रियामा बसेका छन्, सुस्मिता (वर्ष १५) र सुस्मा (१४) । भूकम्पमा आफ्नै घरमा च्यापिएर साननानी, सीता र समिरको मृत्यु भएको थियो । सिन्धुपाल्चोकको इचोक गाविसस्थित गोहरे गाउँमा दुई तले कच्ची घर भत्किँदा उनीहरुको मृत्यु भएको हो । गोहरे गाउँमा करिब १५० घर ध्वस्त भएका छन् भने २० जनाले ज्यान गुमाएका छन् ।

८ वर्षअघि प्यारालाइसिस रोगबाट बुबाको मृत्यु भएपछि सुस्मिता र सुस्मा भक्तपुरस्थित फुपुको घरमा बसेर अध्ययन गर्दै आएका छन् । ‘भूकम्पमा मृत्यु भएका आमा, दिदी र दाजुको क्रिया बस्ने कोही छैनन्’ दुवै दिदीबहिनी सुष्मिता र सुष्माले कान्तिपुरसित भने– ‘त्यसैले हामी दिदीबहिनाले आमा, दिदी र दाजुको काजक्रिया गरेका हौं ।’ भूकम्पमा परेर पाँच जनाको परिवारमा सुष्मिता र सुष्मामात्र जीवित छन् ।

भूकम्पका बेला भक्तपुरमा रहेका सुुस्मिता र सुस्माले आमा, दिदी र दाजुको लाससमेत देख्न पाएनन् । दाहसंस्कारसमेत सहभागी हुन पाएनन् । पढाईमा अव्बल यी दीदीबहिनीको अगाडि एउटै सपना छ, ‘नर्स कसरी बन्ने ?’

भक्तपुरको बालकोटस्थित बालबालिका वोर्डिङ स्कूलमा सुस्मिता कक्षा १० र सुस्मा कक्षा ९ मा अध्ययनरत यी दिदीबहिनीको एउटै लक्ष्य छ भविष्यमा नर्सिङ पढ्ने । ‘आमाले नर्स बनेर समाजको सेवा गर्नुपर्छ भन्नुहुन्थ्यो’ सुस्माले भनिन, ‘आर्थिक स्थिति नाजुक छ । आमाको सपना पुरा कसरी गर्ने होला ?’

समयमै उद्धार गर्न सकेको भए आमा बचाउन सक्ने अवस्था रहेको उनले बताइन् । ‘आमा घाइते भएकी थिइन्, सवारी साधन चलेको भएका बचाउन सम्भावना धेरै थियो, दिदी र दाइलाई दोस्रो दिन निकाले’ उनले भनिन, ‘अब यस्तो विपत्ति सुन्न पनि नपरोस ।’

गाउंकै महेन्द्र उच्च मावि अध्ययनरत सिता कक्षा १२ परीक्षा तयारी थिइन । समिरले सांखुस्थित एभरग्रिन उच्च माविबाट एसएलसीको परीक्षा दिएका थिए ।

गागलफेदीस्थित कुंइकेल गाउँमा फुपाजु गणेशबहादुर कुंइकेलको घरमा बसेर उनी अध्ययन गर्दै आएका थिए । ‘पढाईमा अब्बल, इमान्दार, परिश्रमी थियो, इन्जिनियर बन्छौं भन्थ्यो, स्मरण गर्दै उनले, ‘दैबले लग्यो, कहिल्यै नफर्कने गरि गयो ।’

सुस्मिता र सुस्माको अध्ययन जिम्मा अर्का फुपाजु चोलबहादुर केसी लिएका छन् । ‘बुवाको मृत्युपछि यीनीहरुलाई संगै राखेर अध्ययन गराएका छौं, मेरो पनि आर्थिक स्थिति खासै राम्रो छैन’ उनले भने, ‘अब यीनीहरुको भविष्य कसरी सुन्दर बनाउने झन चिन्ता बढ्यो, पढाइमा राम्रा छन् पढाउने कसरी ?’

आफन्त गुमाएका यस्ता बालबालिको भविष्यप्रति सरकारले गम्भीर हुने पर्ने उनले बताए । ‘सयौं बालबालिकाले अभिभावक गुमाएका छन्, यीनीहरुको जिम्मा सरकारले लिुनपर्छ’ उनले भने । आर्थिक अभावले भविष्यमा नर्स बन्ने सपना पुरा नहोला कि भन्ने दोधारमा छन यी दीदी बहिनी । ‘सरकारले हाम्रा सपना साकार पार्नमा सहयोग गरिदेओस, हाम्रो आग्रह यहि छ’ सुस्माले भनिन, ‘ भविष्यमा केही बन्न चाहन्छौं, ।’

तीन जना अभिभावकको एकैचोटि मृत्यु भएपछि आफ्नो दुई दिदीबहिनीको सहारा कोही पनि छैन् । आफन्त गुमाउंदाको पीडा सहि नसक्नु छ, उनीहरुका लागि । ‘यस्तो विपत्ति, कसैलाई पनि नपरोस’ उनले भनिन, ‘अब घर को भनेर जाने ?’

Post a Comment

0 Comments