Breaking News

6/recent/ticker-posts

Header Ads Widget

भूकम्पपछि चर्चामा आएका १५ शब्द

काठमाडौँ : विनाशकारी भूकम्पको एक महिना पुगिसकेको छ। भोग्नेलाई मात्र थाहा छ यी दिन कसरी कटे। नेताले उपयोग गर्ने राजनीतिक शब्दावलीका वरपर घुमिरहेको थियो वैशाख १२ अघि। संविधान, सहमति, आन्दोलन, दुई तिहाई बहुमत आदि थिए चर्चित शब्दहरु। तर भूकम्पसँगै यी शब्द पनि भग्नावशेषमुनि पुरिए। यसलाई उत्खनन् गरेर निकाल्न अझै केही समय लाग्ला। सामाजिक सञ्जाल र विभिन्न मिडियामा आएका समाचारका आधारमा यो महिनाका चर्चित १५ शब्द यस्ता छन् -

१) भूकम्प

वैशाख १२ गते, १२ बज्नुअघि आएको भूकम्पपछि सबैभन्दा चर्चित शब्द भूकम्प रह्यो। साराको ध्यान यही शब्दमा रह्यो। भूकम्पलाई नेपालीमा भूइँचालो, भैँचालो अङ्ग्रेजीमा अर्थक्वेक शब्द भए पनि नेपाली जिब्रोले ‘भूकम्प’ शब्दलाई नै बढी चलायो। मिडियामा पनि धेरैले यही शब्द चलाए।

२) आयो-गयो, हल्लायो

भूकम्पसँगै ‘आयो-आयो, गयो-गयो’ पनि चर्चामा रह्यो। तर भूकम्प आउँछ कि जान्छ भन्ने चाहिँ कसैले यकिन रुपमा भन्न सकेनन्। खासमा भू अर्थात् जमिन र कम्प अर्थात् कम्पन हुनु, हल्लनुलाई भूकम्प भनिने हो। त्यसैले भूकम्प ‘हुने’ चिज हो न कि ‘आउने’ र ‘जाने’। तर जनजिब्रोमा भूकम्प आयो र गयो शब्द नै बढी भिजेको छ। कसैले भने आयो र गयोको साटो अर्को सजिलो शब्द चलाए- ‘हल्लायो’। वैशाख १२ अघि कि मापसे गरेर मानिस हल्लन्थ्यो कि कमजोरीले। वैशाख १२ पछि हल्लायो भन्दा ब्लड प्रेसर लो भएर ढल्न लागेकै मान्छेले भनेको भए पनि मान्छे भूकम्पले हल्लायो भनेर उफ्रने स्थिति आयो।

३) परकम्प, पराकम्प, पराकम्पन

भूकम्प माउ हो भने परकम्प बच्चो। दुवैको काम हल्लाउनु हो। माउले धेरै हल्लाउँछ, बच्चोले अलि थोरै। जात चाहिँ दुवैको एउटै भूकम्प नै हो। बच्चो भूकम्पलाई जनाउन अंग्रेजीमा आफ्टरसक शब्द छ। अंग्रेजी शब्द टपक्क टिपेर चलाइहाल्ने नेपाली जिब्रोले यस पटकको भूकम्पमा भने ‘पराकम्प’ शब्द चलायो। भूकम्पलगत्तै सञ्चारको लागि भरपर्दो सहारा बनेको रेडियो नेपाल सुन्ने धेरैलाई थाहा छ, त्यसैमा पराकम्प शब्द सबैभन्दा पहिले उनीहरुले सुनेका। यति धेरै ‘पराकम्प’ गए कि मान्छेको मुखमा सजिलै झुण्डियो यो शब्द। कसैले यही शब्दमा ‘न’ जोडेर ‘पराकम्पन’ बनाइदिए। तर यो शब्द राज्यले आधिकारिक मानेको नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोशमा भने रहेनछ। यो शब्दकोशमा माउ भूकम्पपछि जाने बच्चो भूकम्पलाई ‘परकम्प’ भनिएको थियो। ब्रह्मशमशेरले ९० सालको भूकम्पबारे लेखेको पुस्तकमा पनि ‘परकम्प’ शब्द नै उपयोग गरिएको छ। त्यसैले हामीले परकम्प शब्द नै चलाउन थाल्यौँ। तर पनि अरु मिडियामा पराकम्प र पराकम्पनको उपयोग जारी छ।

४) उद्धार, जीवित उद्धार

भूकम्प लगत्तै उद्धार शब्द धेरै चल्यो। भग्नावशेषमा पुरिएकाहरुलाई जिउँदै निकालिएपछि ‘जीवितै उद्धार’ शब्द बढी चल्यो। यति घण्टा र यति दिनपछि जीवितै उद्धार शब्द पनि चर्चामा नै रह्यो।

५) भूकम्पपीडित, राहत

भूकम्पपछि पीडित शब्द पनि चर्चामा आयो। अङ्ग्रेजीमा 'भिक्टिम' र 'सर्भाइभर' दुई शब्द चर्चामा आए पनि नेपालीमा 'पीडित' शब्द एक्लैले बोझ धान्नुपर्‍यो। पीडितसँगै जोडिएको ‘राहत’लाई कसरी बिर्सन सकिन्छ र। भूकम्पको केही समयपछि त राहत शब्दसँगै ङिच्च हाँसेको फोटोसहितको सामाग्रीले फेसबुक भरियो। राहत भन्ने बित्तिकै चाउचाउ र चिउरा बुझिनेसमेत दिन पनि आए।

६) चर्कियो, भत्कियो, स्टिकर

भूकम्प। भूकम्पले गर्छ। के गर्छ त भन्दा हल्लाउँछ। हल्लाएपछि के हुन्छ त भन्दा घर चर्काउँछ, भत्काउँछ। त्यसैले भूकम्पसँगै यो शब्द चर्चामा नआउने कुरै भएन। कति चर्कियो र कति भत्कियो भन्ने मात्रै कुरा बाँकी रह्यो। ठूल्ठूला अपार्टमेन्टदेखि झुपडीसम्म बस्नेहरुले चर्किएको र भत्किएको शब्द नबोली सुखै पाएनन्। योसँगै जोडिएको स्टिकर शब्द पनि चर्चामा रह्यो। रातो स्टिकर भए असुरक्षित, पहेँलो भए निर्माण गरेर बस्न सकिने जोखिमपूर्ण र हरियो भए सुरक्षित गरी तीन वटा स्टिकर प्रयोगमा ल्याइएको थियो।

७) पाल, त्रिपाल, टेन्ट

भूकम्प आएकै दिनको रातदेखि चर्चामा आएको शब्दहरु हुन्- पाल, त्रिपाल, टेन्ट। जमिन हल्लिएको हल्लियै थियो। कुन बेला के हुन्छ भन्न सकिने स्थिति थिएन। त्यसैले खुला आकाशमुनि सुत्ने क्रममा आकाश छोप्न चाहिने सामान कि पाल हो कि त्रिपाल हो। भूकम्पपछि सबैभन्दा बढी खोजिएको चिज पाल नै हो। खोई पाल भन्दै दिलभुषण पाठकदेखि ऋषि धमलासम्मका पत्रकारले गृहमन्त्रीको अन्तर्वार्ता लिए। भूकम्पको तीन सातासम्म पालकै कुरामा सरकार अल्झिरह्यो। जनताले पनि पालै खोजिरहे।

८) केन्द्रबिन्दु, रिक्टर स्केल, म्याग्निच्युड

भूकम्पको कुरासँगै मान्छेको चासो केन्द्रबिन्दुमा रह्यो। भूकम्पको शक्ति जनाउने शब्द रिक्टर स्केल पनि चर्चामा रह्यो। अङ्ग्रेजी शब्दको उच्चारण रिक्टर भए पनि अधिकांशले रेक्टर स्केल लेखे, भने। कतिले नजानेर ‘हेक्टर’ भन्न पनि भ्याए। म्याग्निच्युड अर्को चर्चित शब्द। यो पनि भूकम्प मापन शब्द नै हो। कतिले यसलाई ‘म्याग्निच्युट’ पनि भन्न, लेख्न भ्याए। रिक्टर स्केल र म्याग्निच्युडमा मानिसहरु अन्येलमा परेको पनि पाइयो। खासमा रिक्टर स्केल र म्याग्निच्युड एउटै हो। तर युएसजिएसले सार्वजनिक गर्ने मोमेन्ट म्याग्निच्युड (एमडब्लु) र नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले जारी गर्ने लोकल म्याग्निच्युड (एमएल) भने फरक हो।

९) भग्नावशेष

भूकम्पले भत्काएका संरचनालाई जनाउने भग्नावशेष शब्द पनि यो महिना चर्चामा आयो। भग्नावशेष व्यवस्थापनका काम हुँदै गर्दा यो शब्द अझ बढी चलेको हो। पुलिस र सेनाले भने भग्नावशेष नचलाई अङ्ग्रेजी शब्द 'डेब्रिस' चलाए।

१०) सरकार, खै सरकार, राष्ट्रिय सहमति सरकार

अहिलेको पुस्ताले नभोगेको प्राकृतिक विपत्ति भोगेपछि कति दिन त सरकारै सम्हालिन सकेन। सरकारको उपस्थिति नै देखिएन। त्यसैले ‘सरकार’ शब्द पनि चर्चामा रह्यो। भूकम्पको तीन दिन नबित्दै ‘खै सरकार’ भन्दै खगेन्द्र संग्रौला लगायतको समूहले बालुवाटार घेर्न गएको र लाठिचार्ज भएको प्रसंग पनि चर्चामा रह्यो। बिस्तारै राष्ट्रिय सरकार र राष्ट्रिय सहमतिको सरकारको चर्चा पनि हुँदैछ।

११) पुननिर्माण, पुनर्बास, टहरा, जस्तापाता

समयसँगै पालको चमक हराउँदै गयो भने पुननिर्माण, पुनर्बास, टहरा, जस्तापाता जस्ता शब्दहरुको चमक बढी देखिन थाल्यो।

१२) दुई प्रतिशत ब्याज र १५ हजार

भूकम्पपीडितलाई घर बनाउन दिइने भनेको दुई प्रतिशत ब्याजको ऋण र टहरा बनाउन सरकारले दिने भनेको १५ हजार पनि निकै चर्चामा रह्यो। १५ हजारलाई लिएर त सभासदले अर्थमन्त्रीको सातो खाए- १५ हजारले बाख्राको खोरसमेत बन्दैन भन्दै।

१३) धरहरा

भूकम्पलगत्तै धरहरा ढलेको खबर देशविदेशमा फैलियो। अहिले पनि धेरैले धरहराको भग्नावशेषलाई नै भूकम्पको प्रतीक बनाएका छन्। धरहराको यति चर्चा भयो कि काठमाडौँ नाम रहन पुगेको काष्ठमण्डप पाताल भएको समेत छायाँमा पर्न गयो। धरहरामा रहेर बाँचेका र मरेकाको यति चर्चा भयो तर काष्ठमण्डपबाट जिउँदै निकालिएका र त्यहाँ पुरिएकाहरु छायाँमा परे।

१४) वारपाक, सिँगटी, लाङटाङ

भूकम्पले बढी विनाश गरेका र केन्द्र रहेका ठाउँहरु बढी चर्चामा आए। गोरखाको वारपाक, दोलखाको सिँगटी र रसुवाको लाङटाङको बढी चर्चा भयो।

१५) चिनुक र ओस्प्रे अनि हेलिकप्टर

यो महिना एकदमै चर्चामा आएका शब्दमा अमेरिकाको ओस्प्रे हेलिकप्टर र बेलायतको चिनुक पनि रह्यो। पङ्खा नै दुई वटा भएको अमेरिकी ओस्प्रे नेपाली धरातलमा उपयोगी मानिएन। दोलखामा भूकम्पले नभत्काएका घर ओस्प्रेले भत्काइदियो। छाना उडाइदियो। त्यसैले बेलायतको चिनुक नेपालमा छिर्नै पाएन। चिनुकले अनुमति नपाएको विषयमा स्क्यान्डल नै मच्चियो। त्यस्तै हेलिकप्टर शब्द पनि धेरै नै चर्चामा आयो। भारतीय हेलिकप्टरको रवैया, अमेरिकी हेलिकप्टरको रहस्यमय दुर्घटनाले पनि यो शब्दलाई चर्चित बनाइरह्यो।

हामीले केही शब्द छुटायौँ कि ? कमेन्टमा सुझाउन सक्नुहुन्छ।

Post a Comment

0 Comments