Breaking News

6/recent/ticker-posts

Header Ads Widget

रोग

पत्रिका पढ्ने बानी हरायो । समाचार सुन्न छाडें मैले वास्तविकताबाट भाग्ने बानी त थिएन मेरो । तर पनि देश दुखेको हेर्न नसकिने रहेछ । दैनिकी मेरो मात्र हैन देशकै परिवर्तन भएको छ । सुताई र उठाई को नै ठेगान नभए पछि दिनको लेखाजोखा राख्नु बेकार लाग्छ मलाई ।पढेका कुराहरु एकादेशको कहानी लाग्दैछन्…….कतै सुनेको, कतै देखेको तर अपरिचित पुर्णरुपमा धमिलो । पढ्ने जोस चर्केको मेरा कोठामा तितरबितर छन् । छरिएका जाँगरहरु सोर्ने कसरी ?……….जवाफ दिने दिमागी निकाय कार्यालय बन्द गरि गाँउ पस्यो रे । सोच थाकिसकेको छ । दिमाग पल्ला घरको भैंसी जस्तै थारो भयो । जसलाई दुहूँन छाडिसकें मैले। सायद पहिलो प्रेममा धोका पाउँदा पनि म यति घोत्लिएको थिइन हुँला, जति अईले टोलाएर बस्ने गरेको छु । होहल्ला देखि डर लाग्छ । मान्छे कराएको सुन्नै सक्दिन । कोही कुदेको देखें भने सँगै पछ्याउने गर्छु । निन्द्रामा पनि अक्सर हल्लेकै हुन्छु र हरेक एक बिहान म सोध्ने गर्छु “आमा….राती पनि भूकम्प गाको हो?”

घर अगाडीबाट बैश बाटो लाग्दा छत माथि गएर पनि हेर्ने मेरा आँखाहरु, आजकाल त्यही पोल र तारमा अडिएका छन्, जुन १२ गतेको भुन्चालोमा हल्लाई डोरी जस्तै हल्लेको थियो । अचेल हावाले ती तार हल्लाउदा पनि जुरुक्क उठेर भाग्न तयार हुन्छु । माथिल्लो तल्लाको भान्छा सगरमाथा जस्तै लाग्छ मलाई । चढ्न निकै साहस चाहिने । जाबा १५ वटा खुड्किला उक्लन पनि सयौं पटक सोचेको छु मैले । लाखौं पटक हारेको छु अनि करोडौं पटक धिक्कारेको पनि । कुनै बेला पारिवारिक जमघट गराउने डाइनिङ्ग टेबल अचेल सुनसान छ । संकटकालीन कर्फ्यु जस्तै । भान्छा तल सरेको छ । र मेरो कोठा, घरबाट दुई सय मिटर परको खाली चौरमा…… पाल मुनि……..त्यही पाल, जसमा बाबाले मंसिर महिनामा बिस्कुन सुकाउनु हुन्थ्यो । धान सुत्ने पाल आजकाल हामीले ओड्ने गरेका छौं । केही दिन अघि सरकारी टोली आएका थिए, पाल बाड्न । हाम्रो भागमा पनि एक थान परेको थियो । मैले अस्विकार गर्दै स्पष्ट भनि दिए “हामी घर भत्केर हैन..मन भत्केर पालमा छौं . राहत त्यहाँ दिइयोस् जहाँ तेस्को आवस्यकता छ ।” मेरो भाग मैले कुनै वास्तविक पिडितलाई थमाई दिएँ । बस्…… मैले गरेको सहयोग यति हो । त्यस क्रममा मैले कुनै फोटो खिच्न चाहिन । फेसबुकमा कुनै स्ट्याटस पनि लेखिएन । किनकी मैले सहयोग गरेको थिए कुनै गन्जी कटटुको बिज्ञापन हैन । रक्तदान पनि खुब गरियो । सुनिन्छ खोल्सा खोल्सीका लामखुट्टेहरुलाई दशैँ आको छ रे ।

मैले कैले सोचेको पनि थिइन….म यति कमजोर छु भनेर । पोहोर दशैँ ताका चोर लखाट्न जाँदा सबैभन्दा अगाडी मै थिएँ…डर लागेन मलाई । थुप्रै कुखुरा र केही खसी पनि मार हानेको छु…..हात कैले कापेनन् मेरा । तर किन टि.भी. मा पुरिएका लाशहरु देखि डराउँछु म । भग्नावशेस र पीडितको चित्कारले ओठ किन कप्कपाएको मेरो । प्रकृति वास्तवमै बलियो रहेछ । हजुरबाले सुनाउने कथाहरुका दानव भन्दा पनि बलियो । भूकम्पले नराम्रो हल्लाएको छ मलाई । शरीर त प्रत्येक कम्पसंग हल्लिएका छन् तर मन र मनस्थिति हल्लिएको कुनै क्यालकुलेशन छैन । पलपल मेरो दिमागलाई केन्द्रबिन्दु बनाएर मनमा हजारौं रेक्टरका भूकम्प जाने गरेका छन् । हल्लाउछन् मेरा अस्थिपन्चारहरुलाई । भौतिक रुपमा शरीरको केही भाँच्न त सक्दैनन् तर मानसिक ?……..पुर्णरुपमा क्षतिग्रस्त बनाउछन् । मेरो मानसिक सन्तुलन ठिक छैन । सुनिन्छ यस दौरान फोहोरमैलाले हैजा फैलन्छ, लासको दुर्गन्धले झाडापखाला निम्त्याउछ । विभिन्न रोगको अड्कालबाजी काटी रहदा, कसैलाई पनि ज्ञात छैन कि मानसिक रोगको महामारी फैलिसकेको छ ।

– श्रेयज सुबेदी 
From VibesNepal

Post a Comment

0 Comments