Breaking News

6/recent/ticker-posts

Header Ads Widget

कहाँ हराए त्रिपाल ?


काठमाडौं, जेष्ठ १ - बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभागको मूलद्वारमा बुधबार अपराह्न एकाएक कर्मचारीहरूको ठेलमठेल बढ्यो । भित्रका केही कर्मचारीको निर्देशनमा प्रहरीले गेट बन्द गरे अनि परिचयपत्र र त्यसको फोटोकपी देखाउनेलाई मात्रै भित्र छिर्न दिए ।

'सहरी विकास मन्त्रालयले विभागमार्फत भूकम्प प्रभावित भनेर कर्मचारीलाई त्रिपाल बाँडेपछि एकाएक भीड बढेको हो,' विभागका एक कर्मचारीले भने, 'प्रभावितको कुनै मापदण्ड थिएन, परिपयपत्रको फोटोकपी बुझाउने जो-कोहीलाई त्रिपाल बाँडिएको छ ।'

त्रिपाल पाउनेको कुनै नामावली नराखेकाले एकै जनाले ३/४ वटासम्म लगेको एक कर्मचारीले जानकारी दिए । भूकम्प प्रभावितका लागि आएको त्रिपाल शक्ति र प्रभाव भएका जो-कोहीले लगिदिँदा वास्तविक पीडित मर्कामा परेका छन् ।

त्रिपालको असमान वितरणका कारण आवश्यक संख्यामा देशभित्र त्रिपाल भित्रिए पनि वास्तविक पीडितसम्म पुग्न सकेको छैन । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार भूकम्प प्रभावित जिल्लामा बुधबारसम्म कुल ४ लाख ८९ हजार त्रिपाल बाँडिएको छ । गृहमै ४ लाख १६ हजार भवन तथा घरमा भूकम्पले क्षति पुर्‍याएको तथ्यांक छ । मंगलबारको दोस्रो शक्तिशाली झड्काका कारण थप घर भत्किएकाले करिब ६ लाख परिवार घरबारविहीन भएको देखिन्छ । हरेक परिवारलाई एउटाका दरले बाँड्ने हो भने करिब ६ लाख त्रिपाल तत्काल आवश्यक देखिन्छ ।

मन्त्रालयले मात्रै 'करिब/करिब' प्रभावित परिवारकै संख्याको हाराहारीमा त्रिपाल बाँडिरहेको छ । यी बाहेक विभिन्न कूटनीतिक तथा दातृ निकायहरू, रेडक्रस लगायतका अन्तर्राष्ट्रिय संस्था तथा अन्य गैरसरकारी संस्थाहरूले पनि त्रिपाल बाँडिरहेका छन्, जसको अभिलेख गृह मन्त्रालयसँग छैन ।

भन्सार विभागको तथ्यांकले पनि भूकम्पपछि देशभर माग भएको संख्यामा त्रिपाल आपूर्ति भएको पुष्टि गर्छ । भूकम्पपछि एक साताको अवधिमा ५ लाख त्रिपाल नेपाल भित्रिएको छ । त्यसमध्ये ३ लाख थान राहतका लागि आपूर्ति भएको थियो भने दुई लाख व्यावसायिक प्रयोगका लागि ल्याइएको थियो । विभिन्न संघसंस्थाले खरिद गरेर राहतमै प्रयोग गर्ने भएकाले व्यावसायिक प्रयोजनकै लागि खरिद भएको त्रिपाल पनि प्रभावित क्षेत्रमै वितरण भइरहेको छ ।

संकटग्रस्त घोषणा नगरिएका भूकम्प प्रभावित जिल्लाहरूबाट समेत त्रिपालको अत्यधिक माग आएको गृह मन्त्रालयका प्रवक्ता ढकालले बताए । 'अहिले काठमाडौं होस् या बाहिर, मानिसहरू घरभित्र बस्नै नचाहने अवस्थाले पनि त्रिपालको माग बढेको छ,' ढकालले भने, 'आवश्यकता नै नपर्नेहरूले पनि राहतका सामग्री लिएको गुनासो पनि आएका छन् । त्यसले पनि समस्या बढेको छ ।'

त्रिपाल वितरणमा सक्रियता देखाउनेमा सहरी र स्थानीय विकास मन्त्रालय छन् । सहरी विकास मन्त्रालयका प्रवक्ता पदम मैनालीका अनुसार मंगलबार अपराह्नसम्म २ लाखभन्दा बढी त्रिपाल बाँडिएको थियो । त्यसमा पश्चिम बंगाल सरकारको सहयोगमा प्राप्त एक लाख थान पनि समावेश छ ।

स्थानीय विकास मन्त्रालयको विपत् व्यवस्थापन शाखाका उपसचिव ऋषिराज आचार्यले भूकम्प प्रभावित क्षेत्रका स्थानीय निकायहरूबाट १ लाख ३० हजार थान बाँडिएको बताए । दुई मन्त्रालयको तथ्यांक हेर्दा करिब ३ लाख ३० हजार परिवारले त्रिपाल पाएको देखिन्छ ।

सरकारी निकाय र गैरसरकारी संघसंस्थाहरूबाहेक सेना, सशस्त्र र नेपाल प्रहरीले पनि त्रिपाल प्रयोग तथा सीमित संख्यामा वितरण गरिरहेका छन् । 'त्रिपाल वितरणमा साह्रै राजनीतिकरण भएको छ, नेता वा पहुँचवालाको भनसुनबिना जिल्लामा त्रिपाल पाउन सम्भव छैन,' स्थानीय विकास मन्त्रालयका एक अधिकृतले भने, 'जरुरी नभएका तर पहुँच भएकाहरूले पनि त्रिपाल बोकेर त्यसको दुरुपयोग गरिरहेका छन् ।' जानकारहरूका अनुसार २ जना अट्ने सानो आकारको 'टु मेन टेन्ट' र ठूलो तथा उच्च गुणस्तरको १ सय ९० पाउण्ड भनिने त्रिपाल केही उच्च सैनिक अधिकारीहरूले घरमा लगेर प्रयोग गरिरहेका छन् ।

घरबारविहीन परिवारका लागि त्रिपाल उपयुक्त अस्थायी आवासको साधन हो । गाड्ने किला र डोरी भए केही घण्टामै तयार गर्न सकिने भएकाले सबैतिर यसको माग छ । तर सरकारले उपलब्ध त्रिपालको पनि न्यायोचित वितरण गर्न नसक्दा भूकम्पबाट वास्तविक रूपमा पीडित भएकाहरूले राहत पाउन सकेका छैनन् ।

भूकम्प प्रभावितहरूलाई त्रिपाल वितरणमा व्यवस्थित तथ्यांक र आँकडालाई आधार बनाइएको छैन । केन्द्रमा गृह मन्त्रालय र जिल्ला तहमा जिल्ला प्रशासन कार्यालयअन्तर्गतको जिल्ला दैवीप्रकोप उद्धार समितिको समन्वयमा बाँड्ने भनिए पनि सबैले आफूखुसी बाँडिरहेका छन् ।

स्थानीय विकास मन्त्रालयले नगरपालिका र गाविसहरूलाई नै त्रिपाल खरिद गरेर बाँड्न परिपत्र गरेको छ । सहरी विकास मन्त्रालयले पनि बाँडिरहेको छ भने सरकारले पछिल्लोपटक त्रिपालका लागि आपूर्ति मन्त्रालयलाई जिम्मा दिएको छ ।

सभासद र जिल्लातहका नेताहरू आफ्नो क्षेत्रका लागि त्रिपाल माग्दै विभिन्न संघसंस्था र मन्त्रालय धाउने गरेको गृहको केन्द्रीय आपत् कार्य परिचालन केन्द्रका एक अधिकृतले बताए । 'हाम्रो कम्पाउन्डभित्र आउनुस्, हरेक समय एउटा न एउटा नेता देख्नुहुन्छ,' ती अधिकृतले भने, 'वास्तविक पीडितलाई उद्धार र राहतभन्दा पनि उहाँहरू आफ्नै क्षेत्रमा बढी जोड दिइरहनुभएको हुन्छ ।'

गृहका प्रवक्ता ढकालका अनुसार भूकम्प प्रभावित ३२ मध्ये हरेक जिल्लाबाट कम्तीमा ५० हजारको संख्यामा त्रिपाल माग भइरहेको छ । घर भत्किएर खुला ठाउँमा बसिरहेका परिवारलाई एउटाले नपुग्ने भएकाले माग बढेको गृहका अधिकारीहरू बताउँछन् । अहिले पनि ८/९ लाखको संख्यामा त्रिपालको माग छ,' गृह प्रवक्ताको दाबी छ ।

Post a Comment

0 Comments