गोरखा, धादिङ, रसुवा, सिन्धुपाल्चोक र दोलखामा पर्यटकीय गाउँ बनाइने भएको हो। पर्यटन विभागले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी यस्तो कार्यक्रमको प्रस्ताव गरेको हो। विभागका महानिर्देशक तुलसीप्रसाद गौतमका अनुसार अहिले प्रारम्भिक गृहकार्य भइरहेको छ। ‘पर्यटन पुनरुत्थानका लागि मन्त्रालयलाई प्रस्ताव पठाएका छौं। हाम्रो प्रस्ताव योजना आयोगमा पुगिसकेको छ,’ आइतबार बोर्डमा आयोजित कार्यक्रममा उनले भने, ‘अहिले आर्थिक वर्ष सकिन डेढ महिना बाँकी कार्यक्रम आगामी आर्थिक वर्षदेखि लागू गरिनेछ।’
उनका अनुसार ५ जिल्लामा गाउँ छनोट भइसकेका छैनन्। स्थानीय, टुर अपरेटरलगायत सरोकारवालाहरूको सहभागिताका आधारमा प्राकृतिक, सामाजिक र धार्मिक ठाउँ हेरी गाउँ छनोट गरिनेछन्। यो कार्यक्रमको उद्देश्य भूकम्पछि धनजन गुमाएका गाउँलेलाई आर्थिक क्रियाकलापमा सहभागी गराउने र पर्यटकीय गतिविधि चलायमान बनाउने हो। भूकम्पका कारण यस वर्ष सर्वाधिक असर परेका क्षेत्रहरूमा लाङटाङ, मनास्लु, हेलम्बु र खुम्बु क्षेत्र हुन्।
पर्यटन बोर्डका प्रशासकीय प्रमुख रमेशकुमार अधिकारीका अनुसार यो कार्यक्रममा टहरा र शौचालय निर्माण गर्ने प्रस्ताव गरेको छ। ‘यस वर्ष सर्वाधिक असर पुगेका पदयात्रा मार्गमा हरेक ५ किलोमिटरमा पर्यटकका लागि अस्थायी सेल्टर र शौचालय निर्माण गर्ने प्रस्ताव गरेका छौं,’ उनले भने, ‘भूकम्पअघि गत हिउँदमा अन्नपूर्ण क्षेत्रमा आएको हुदहुदका कारण सेल्टर र शौचालय निर्माण गर्ने यस वर्षको बजेटमा कार्यक्रम छ।’ तर हालसम्म यो कार्यक्रम कार्यान्वयन हुन सकेको छैन। करिब दुई महिनाअघि मनाङ र मुस्ताङका सभासदहरूले पर्यटन मन्त्रालयलाई यो कार्यक्रम तत्काल लागू गर्न दबाब दिएका थिए।
पछिल्ला वर्ष तारन्तर पर्यटन क्षेत्रमा प्राकृतिक र दैवी प्रकोपका असर देखा पर्न थालेपछि अब सरकारले एक्लै कुनै पनि गन्तव्यमा पर्यटकलाई घुम्न अनुमति नदिने भएको छ। तथ्यांकअनुसार हालसम्म ७४ जना विदेशीले भूकम्पमा ज्यान गुमाइसकेका छन्। यसमध्ये १८ जनाको सगरमाथामा मृत्यु भएको थियो। बाँकीको लाङटाङ र अन्य भूकम्प प्रभावित क्षेत्रमा मृत्यु भएको हो।
विभागले राजधानीका पुरातात्त्विक सम्पदालाई छाडेर बाहिरका प्राकृतिक पर्यटकीय गन्तव्यमा खासै असर नपरेको दाबी गरेको छ। महानिर्देशक गौतमले भने, ‘समग्रमा भन्दा ८० प्रतिशत पर्यटकीय गन्तव्य सुरक्षित छन्।’ विभागले करिब ३ सय ५० किलोमिटर पदमार्गको मर्मत गर्नुपर्ने प्रक्षेपण गरेको छ। ‘हामी टानसँग सहकार्य गरी पदमार्गको क्षतिबारे काम गरिरहेका छौं। अध्ययन टोलीले सुझावसहित प्रतिवेदन दिनेछ,’ गौतमले भने। प्रशासकीय प्रमुख अधिकारीले पुरातत्त्व विभागलाई उद्धृत गर्दै हालसम्म ५ सय ८१ वटा मन्दिरलगायत धार्मिक र सांस्कृति सम्पदा क्षतिग्रस्त भएको जनाए। धेरै क्षति हुने अवस्थामा छन्। पुरातत्त्वमा भएको क्षतिबारे नेपाल एसोसियसन अफ टुर अपरेटर र विभाग अध्ययन गरीरहेका छन्। पर्यटन पुनरुत्थान समितिका अनुसार होटल एसोसिएसनले होटलमा भएको क्षतिबारे अध्ययन गरिरहेको छ। पाटा नेपाल च्याप्टरले अन्तर्राष्ट्रिय नेपालमा पर्यटकीय गतिविधिलाई सुचारु
गराउन सरोकारवालासँग छलफल गरिरहेको छ।
अहिलेको वसन्तकालीन सिजन सकिन करिब १५ दिन बाँकी छ। तर पाटाले आगामी शरद याममा अन्नपूर्ण र सगरमाथा क्षेत्रको पदयात्रालाई मध्यनजर गर्दै विदेशी एजेन्सीहरूसँग छलफल गर्ने भएको छ। नेपालको कुल गार्हस्थ उत्पादनमा करिब ४ प्रतिशत योगदान दिने पर्यटन क्षेत्रभित्रका सगरमाथा र अन्नपूर्णको हिस्सा झन्डै ७५ प्रतिशत छ।
प्रकृति, संस्कृति, सम्पदा, सभ्यता र आत्मीय आतिथ्यताको सुन्दर जगमा मौलाइरहेको पर्यटन उद्योगलाई गतिशील बनाउन पर्यटन बोर्डबाट बीउ पुँजीका रूपमा १० करोड राखी पुनरुत्थान कोष स्थापना गरिएको छ।
0 Comments