भीडकी एक पात्र थिइन्, सुन्द्रावती–८ की ७० वर्षीया आइतीमाया थामी। तीन छोरा र चार नाति–नातिनी भएकी उनले दुई माना चामल पाइन्। उनी मेहेलेबाट ४० मिनेट हिँडेर कटुवाचौर आएकी थिइन्। ‘भूकम्पले घर ढलेको छ। सामान केही निकाल्न पाएनँ,’ उनले भनिन्, ‘खाने अन्न छैन। यति चामलले त एक छाक पनि पुग्दैन।’
भूकम्पले उनको घर भत्किँदा एक–एक मुरी कोदो र मकै पुरिएको थियो। चामलसँगै पाल पनि पाइएला भन्ने उनको आस थियो। तर, पाल नभएको जवाफ दिइएपछि उनी निराश थिइन्। ‘भकारी ओढाएको छु। पानी परेका बेला चुहिन्छ, कसरी सुत्ने?’ उनले भनिन्, ‘सबै सम्पत्ति सकियो अब कहाँ बस्ने? के खाने?’ धनमाया तामाङको घर भत्किएको छ। सम्पत्ति केही निकाल्न पाइनन्। अन्न नभएपछि राहत थाप्न आइतीमायासँगै कटुवाचौर आएकी थिइन्। सातजनाको परिवारलाई दुई माना चामल दिइएपछि उनी खिन्न भइन्।
अब स्थानीयवासी पाकेको गहुँ काटी उसिनेर खाने तयारीमा छन्। ‘खाने अन्न छैन, गहुँ पाकेको छ। तर, पिस्ने ठाउँ छैन,’ गहुँ काटेर घर फर्कंदै गरेकी सुस्पा क्षमावती–४ की सुशीला पाठकले भनिन्, ‘गहुँ उसिनेर खाने सोचमा छौं।’
उत्तरी गाउँ बुलुङका ६५ घरका भूकम्पपीडितले पनि राहत पाउन सकेका छैनन्। पछिल्लो भूकम्प जानुअघि दुई ट्रक सामान लगिए पनि गाउँलेले चिउरा मात्रै पाए। भूकम्पले बस्ती चिरा पर्ने गरी क्षति पुर्याएपछि कैयौं विस्थापित भइसकेका छन्। मंगलबारको भूकम्पले धेरै मानवीय र भौतिक क्षति पुगेको सिंगटीमा पनि पालसहित राहत गएको छैन।
0 Comments