खानी तथा भूगर्भ विभाग स्रोतका अनुसार अमेरिकी, फ्रान्सेली, चिनियाँ, बेलायती, जापानीलगायत संघ–संस्था र तिनका अनुसन्धानकर्ता नेपालका विभिन्न भूभागमा भूकम्प मापनका अस्थायी केन्द्र स्थापना गर्न खटिरहेको नागरिकमा खबर छ ।
‘वैशाख १२ पछि विदेशी वैज्ञानिक र अनुसन्धानकर्ता नेपालकेन्द्रित छन् । कतिपय आइसकेका छन् भने कतिपय आउने प्रक्रियामा छन्,’ विभाग स्रोतले भन्यो । स्रोतका अनुसार कतिपय विदेशी वैज्ञानिक आफैं आएर काम गरिरहेका छन् भने केहीले विभाग र राष्ट्रिय भूकम्प मापन केन्द्रसँग समन्वय गरिरहेका छन् ।
वैशाख १२ पछि अस्थायी केन्द्र स्थापना र तथ्यांक संकलनमा खटिरहेका केन्द्रका भूकम्पविद मुकुन्द भट्टराईका अनुसार केन्द्रले पनि यसबीच फूल्चोकी र टेकुमा एक्सिलोमिटर जडान गरेको छ । यीबाहेक पुराना ६ एक्सिलोमिटर केन्द्रको अवस्था र त्यहाँ संकलित तथ्यांक पनि अपलोड गरेको छ ।
‘यसबाट पहाडी र चट्टानी भूभाग तथा उपत्यकाभित्रको माटोमा भूकम्पले पारेको असरको भिन्नता पत्ता लगाउन सहयोग पुग्छ,’ उनले भने, ‘यसबाट प्राप्त तथ्यांक बिल्डिङ कोड निर्माणमा सहयोगी हुन्छन् ।’
भट्टराईका अनुसार एकपटकको भूकम्पको असर ठाउँअनुसार कति फरक हुन्छ भन्ने कुरा यो केन्द्रबाट थाहा हुन्छ । कस्ता भवनलाई कति म्याग्निच्युडको भूकम्पले कति असर पार्दो रहेछ भन्ने कुरा यी केन्द्रबाट थाहा हुन्छ । दुई वटा अस्थायीसहित यस्ता स्टेसनको संख्या आठ वटा पुगेको छ ।
अमेरिकी दूतावासले पनि भूकम्पपूर्व नै यस्तो केन्द्र स्थापना गरेको छ । त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रीय शिक्षण विभागले पनि एक्सिलोमिटर जडान गरिरहेको छ ।
केन्द्रका अनुसार यसबीच अमेरिकाको क्यालिफोर्निया इन्टिस्च्युट अफ टेक्नोलोजी (क्यालटेक) ले विभागसँग समन्वय गरेर केन्द्रका २९ वटा जिपिएस केन्द्रबाट तथ्यांक अपलोड गरिसकेको छ । ‘भूकम्प वैज्ञानिकसहित आएको यो समूहले तथ्यांक संकलनबाहेक प्रभावित क्षेत्र र त्यसका आसपास अस्थायी जिपिएस केन्द्रहरू समेत स्थापना गरिरहेको छ,’ भट्टराईले भने । पछिल्ला दिनमा यो समूह केन्द्रका भूकम्पविदलाई लिएर केन्द्र स्थापना गर्न इलाम पुगेको छ ।
उनका अनुसार २९ वटा राष्ट्रिय जिपिएस केन्द्र छन् । यसबीच धेरै दुरी भएको स्थानमा त्यस्ता अस्थायी केन्द्र जडान गर्न थालिएको छ ।
0 Comments