०६७ मङ्सिरको अन्तिम शनिबार । बिहानको समय । पोखराको महेन्द्रपुलस्थित दीपशिखा होटलको सभाकक्षमा मेरो उपन्यास ‘समय त्रासदी’माथि परिचर्चा कार्यक्रम आयोजना गरिएको थियो । साहित्यकार राजेन्द्र चाँपागाईं ‘आहत्’ को अध्यक्षतामा केही महिनाअगि मात्र ‘र्यान्डम रिडर्स सोसाइटी अफ नेपाल’ जन्मेको थियो, जसले प्रत्येक महिनाको अन्तिम शनिबार कुनै न कुनै किताबमाथि यस्ता परिचर्चा आयोजना गरिरहन्थ्यो । गहन बौद्धिक विमर्शको कार्यक्रम हुने भएकाले र्यान्डमका कार्यक्रमहरुमा बौद्धिक लेखक, प्राध्यापक र बुद्धिजीवीहरुको उपस्थिति थोरैमा धेरै हुन्थ्यो ।
यसपालि ‘समय त्रासदी’ को पालो परेको थियो । त्यसमाथि चेतभक्त सुवेदीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रको प्रस्तुतिपछि र्यान्डमको परम्पराअनुरुप प्रश्नोत्तर कार्यक्रम । जिज्ञासुका कति प्रश्न कार्यपत्र प्रस्तोतामाथि । कति प्रश्न लेखकको उपस्थिति भयो भने लेखकमाथि ।
म उपस्थित थिएँ । त्यसैले स्वाभाविक रुपले प्रश्नहरु ममाथि पनि गरिए । धेरैको जिज्ञासा ‘समय त्रासदी’ को लेखनसन्दर्भमाथि थियो । कति प्राध्यापकले मेरो समग्र औपन्यासिकताबारे पनि चर्चा गरे । चर्चाको क्रममा बहिनी क्षेत्र केसीले समय लिएर एउटा छोटो कथा नै भनिन्- “सरूभक्त दाइ, तपाईंं मलाई चिन्नुहुन्न । म पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा नर्सिङ अधिकृतको पदमा कार्यरत छु । यो ०५० सालको कुरा हो । त्यस दिन मेरो डयुटी नभए पनि एक जना परिचित बिरामी भेट्न म अस्पताल पुगेकी थिएँ । अस्पतालको इमरजेन्सीमा एउटी युवती रोइरहेकी थिइन् । उनको निधारको चोटमा तीन-चार टाँका लागेको थियो । मैले उनलाई रोएको देखी ‘के भयो बहिनी ? कहाँबाट आएकी ?’ भनेर सोधें । उनले भनिन्- ‘मेरो घर पूर्व पर्छ इलामतिर । म साथीहरुसित पोखरा घुम्न आएकी थिएँ । सरूभक्तको उपन्यास ‘पागलबस्ती’ को नौडाँडा भन्ने ठाउँ हेर्न जाँदा बाटोमा गाडी दुर्घटना भयो ।”
अप्रत्याशित रुपमा क्षेत्र केसीका मुखबाट यो मार्मिक कथा सुन्नुपर्दा म हतप्रभ भएँ । घटना २०५० को थियो तर २०६७ मा म के गर्न सक्थें ? मनमा लाग्यो, त्यो दुर्घटनाको खबर त्यही समय पाएको भए कति जाति हुन्थ्यो ! म अरु केही गर्न नसके पनि दुर्घटनामा परेकी बहिनीलाई भावनात्मक सहयोग र सेवा गर्न सक्थें ।
त्यसपछि मैले यो कथा कहिल्यै बिर्सन सकिनँ । सधैं मनले भनिरहृयो- ती युवती को थिइन् ? कस्तो मनले ‘पागलबस्ती’ को नौडाँडा हेर्न गएकी होलिन् ? दुर्घटनापछि कस्तो मन लिएर इलामतिर फर्किन् होला ?
विक्रमाब्द २०४८ मा ‘पागलबस्ती’ प्रकाशित भएपछि मेरा धेरै ज्ञातअज्ञात पाठकहरुले ‘पागलबस्ती’ र नौडाँडालाई पर्यायका रुपमा हेरेका छन् । पछिल्ला केही वर्षहरुमा मेरा कति पाठकहरुले भेटेर वा फोन गरेर ‘पागलबस्ती’ को नौडाँडा कहाँ पर्छ ?’ भनी सोधेका पनि छन् । अनि पागलबस्ती परिकल्पित बस्ती मात्र हो भन्ने जान्दाजान्दै कुनै संवेदनाद्वारा तानिएर नौडाँडा भ्रमण गरिरहेछन् र त्यहाँ साँच्चै नै पागलबस्ती थियो भन्ने अनुभूति गरिरहेछन् । परिकल्पित बस्तीलाई सत्य सम्झने पाठकहरुको यो गहन संवेदनाको मनोवैज्ञानिक अर्थ के हो ? मनोविज्ञहरु नै जानून् । मैले जानेको कुरा के हो भने जीवनको गहन अर्थबोध गर्न खोज्दा यथार्थ र परिकल्पनाका सीमा हराउँछन् । मानिसको जीवनमा कति यथार्थ परिकल्पनाजस्ता लाग्छन्, कति परिकल्पना यथार्थजस्ता । जीवनमा कति यथार्थ र परिकल्पना भिन्न लाग्छन्, कति यथार्थ र परिकल्पना समान लाग्छन् । सायद जीवन यथार्थ र परिकल्पनाभन्दा महान् छ । त्यसैले हामी कहिले यथार्थमा परिकल्पना बाँच्छौं, कहिले परिकल्पनामा यथार्थ बाँच्छौं ।
संवत् २०४८ मा ‘पागलबस्ती’ प्रकाशित भएपछि म लामो समयसम्म नौडाँडा गइनँ । कहिलेकाहीँ कार्यवश कुस्मा, बागलुङ वा अरु गाउँतिर जाँदा नौडाँडालाई मैले गाडीबाट देखें मात्र । एकपल्ट मलाई रहर लाग्यो- एउटा क्यामेरा बोकेर वा कुनै व्यावसायिक क्यामेरा म्यान लिएर नौडाँडा जाउँ अनि पागलबस्ती बसाइएको ठाउँको फोटो खिचेर उक्त उपन्यासको आगामी संस्करणको आवरणमा प्रयोग गरुँ । तर मेरो यो रहर सधैं रहरमै सीमित रहृयो । ‘पागलबस्ती’ बारे नौडाँडावासी के सोचिरहेका छन्, तिनले मेरो यो उपन्यास पढेका पनि छन् कि छैनन्- मैले कहिल्यै जान्न पाइनँ । साँच्चै भनुँ भने मैले जान्ने प्रयासै गरिनँ ।
संवत् २०५३ मा ‘संरक्षण कविता यात्रा’ सुरू भयो, २०५५ मा ‘संरक्षण कविता आन्दोलन’ । मैले संरक्षण कविता आन्दोलनको कार्यक्रम नौडाँडा र वीरेठाँटीमा राख्नु आवश्यकता सम्झेँ । २०५७ असार २९ गते आन्दोलनका केही कविहरुसित म नौडाँडा पुगें ।
‘पागलबस्ती’ रचना गरिएको समयमा नौडाँडा बजार असाध्य सुन्दर लागेको थियो । लजहरुमा पर्यटकहरु भरिभराउ हुन्थे । माथि मुस्ताङतिरबाट आएका घोडा-खच्चरहरुका कल्याङमल्याङ पनि सुनिन्थे । पोखराबाट तल्लो हेमजा, माथिल्लो हेमजा हुँदै सुइँखेतको फाँट छिचोले पनि नौडाँडा पुग्न लेवादेको उकालो चढ्नुपथ्र्याे । मलाई यो उकालो रमाइलो लाग्थ्यो । नौडाँडा बजार पनि व्यवस्थित थियो । बाटोमा ढुङ्गा बिछयाइएका थिए । बजारको बाटो हिँडेपछि ढिकुरपोखरीको एउटा मनोरम ढुङ्ग्यानी उकालो आउँथ्यो । म ढुङ्गेघरको पिँढीमा थकाइ मार्दै परको फेवाताल र पागलबस्ती प्रदेश हेर्न मन पराउँथें ।
यसपालि नौडाँडा पुग्दा भने नौडाँडा बजार सुन्दर होइन, उजाड लाग्यो । पुराना लजहरु गायब थिए । केही घरमा लजका बोर्ड झुन्डयाइएका थिए तर पाहुना थिएनन् । लाग्थ्यो, पुरानो नौडाँडा बजार पागलबस्तीझैँ बिस्तारै अवशेषमा परिणत हुँदैछ ।
यो उजाडताको प्रत्यक्ष कारण थियो । नौडाँडा बजारपछाडिबाट गएको पोखरा-बागलुङ राजमार्ग । यस्ता राजमार्गहरुले हाम्रा गाउँघरमा कति नयाँ बजार बसेका छन् भने कति पुराना बजार उजाडिएका छन् ।
हामी आन्दोलनका कविहरु सुनसान नौडाँडा बजारको एउटा पुरानो लजमा वास बस्यौं, जुन लामो समयदेखि पाहुनाविहीन थियो । असारको महिना, पहिलेदेखि नै पानी सिमसिमाइरहेको थियो । हामीले लजमा खुट्टो टेकेपछि सिमसिमाइरहेको पानीले तेज गति पक्रियो ।
मुसलधारे वषर्ा । कतै घुम्न जाने कुनै सम्भावना रहेन । हामी कविहरु साँझदेखि अबेर रातिसम्म कविता र अन्य साहित्यका विविध पक्षमाथि विचारविमर्श गरी बसिरहृयौं ।
रातभर परेको मुसलधारे वर्षाले भोलिपल्ट सुन्दर बिहानी जन्मायो । कविहरु लजमा चिया पिएर नौडाँडावरिपरि छरिए- कविता खोज्न, कविता रच्न । त्यसै दिन मध्याहृनमा स्थानीय मर्निङ स्टार विद्यालयमा आन्दोलन कविता गोष्ठी राखिएको थियो । यस कार्यक्रमका लागि मैले उक्त विद्यालयका संस्थापक एवम् प्राचार्य फणीन्द्र अधिकारीसित पहिले नै कुरा मिलाइसकेको थिएँ ।
आन्दोलनका कविहरु को, कता लागे मैले याद गरिनँ । म भने सरासर नौडाँडा बजारबाट राजमार्गतर्फ ओर्लें । एक ठाउँमा ‘नाउडाँडा’ लेखिएको बोर्ड देखें । यो नौडाँडाको वास्तविक नाम हो वा परिवर्तित, संशोधित- मैले जानिनँ तर सधैं नौडाँडा मानिएको ठाउँलाई ‘नाउडाँडा’ मान्न मेरो मनले रूचाएन ।
नौडाँडा बजारमुन्तिर पोखरा-बागलुङ राजमार्ग सोझो र सुन्दर देखिन्थ्यो । छेउपट्टि रुखको हरियालीले राजमार्गको सुन्दरता वृद्धि गरेको थियो । अनायाश मैले आˆनो दृष्टि पागलबस्ती बसाइएको ठाउँमा पुर्याएँ । पर फेवातालको सिरानमा विस्तारित त्यो खाल्टो परेको ठाउँ आˆनो विशिष्ट भूबनोटले मनमोहन देखियो । मलाई त्यो मनमोहक दृश्यमा हराइरहुँ वा कतै बसेर कविता लेखुँ- दोधार भयो । अन्ततोगत्वा कर्तव्यले तान्यो । म उपन्यासकार मनले होइन, कवि मनले माथिपट्टिको नौडाँडा बजार हेर्दै कविता खोज्न थालें । बिम्बहरु टिप्न थालें ।
बिहान भोजन गर्ने बेलामा हामी कविहरुले एकअर्कालाई भेटयौं । लेखिएका कविताबारे कुरा गर्यौं र भोजन गर्यौं । अनि झोला बोकी लजबाट बिदा भएर विद्यालयतर्फ लाग्यौं । विद्यालयमा कार्यक्रम सम्पन्न गरी त्यसै दिन अर्काे दिनको कार्यक्रमका लागि वीरेठाँटी पुग्नु थियो हामीलाई ।
मर्निङ स्कुल पुग्दा फणीन्द्र सरलगायत अन्य शिक्षक-विद्यार्थीहरुले हामीलाई हार्दिकतापूर्ण स्वागत गरे । विद्यालयको चउरमा संरक्षण कविता आन्दोलनको कविता गोष्ठी आरम्भ भयो । त्यस कार्यक्रममा विद्यालयका शिक्षक-विद्यार्थीबाहेक केही नौडाँडावासीहरुको पनि उपस्थिति रहृयो । असारको रोपाइँ, व्यस्त महिना, सबैको उपस्थिति सम्भव थिएन ।
आन्दोलन कविता गोष्ठी सफलतापूर्वक सम्पन्न भयो । हामी विद्यालयमा खाजा खाएर बिदा भयौं । केही शिक्षकहरु हामीलाई बिदा गर्न तल राजमार्गसम्म आए ।
विद्यालयबाट राजमार्गसम्मको छोटो हिँडाइमा एक जना रैथाने शिक्षकले कुरा झिके- ‘सरूभक्त दाइ, तपाईंं ठीक समयमा नौडाँडा आउनुभयो । अलि अगाडि आउनुभएको भए तपाईंंलाई अप्ठयारो पर्न सक्थ्यो ।’
‘किन र भाइ ?’ आश्चर्य मानी मैले सोधें ।
‘त्यस्तै कुरा थियो… ,’ उनी बोल्दाबोल्दै अन्कनाए । कुरा खोल्न चाहेनन् ।
‘भन्नु न, अप्ठयारो मान्नु पर्दैन… ।’ मैले उनलाई प्रोत्साहित गरें । कुनै विशेष कुरा होला भनी म अलि अधीर पनि थिएँ । अरु शिक्षक र कविहरुले पनि उनलाई उत्साहित पारे ।
‘तपाईंंको पागलबस्ती छापिएपछि त्यसबेला यहाँका युवाहरु तपाईंंसित असाध्यै रिसाएका थिए ।’ शिक्षकले कुरा खोले ।
‘किन र ?’ मैले सोधें ।
‘नौडाँडामा पागलबस्ती बसाएर यो ठाउँकै बेइज्जती भयो भनेर… ,’ शिक्षकले भने ।
‘बेइज्जत गर्यो भनेर रे ? मैले त असाध्यै मन परेर पो यो ठाउँमा पागलबस्ती बसाएको थिएँ ।’ मैले वास्तविकता खोलें ।
‘त्यो तपाईंंको भावना होला तर त्यस बेलाका युवाहरुले बेइज्जती नै महसुस गरे । त्यस बेला तपाईंं आउनुभएको भए तपाईंंलाई कालो मोसो दल्ने योजना थियो ।’ ती शिक्षकले अन्तिम कुरा खोले ।
‘ए, हो र ? यस्तो योजना थाहा पाएको भए म त्यसैबेला आइहाल्थें नि ।’ मैले सबैलाई मुखैले हँसाउँदै भनें तर मन हाँसेन । हामी शिक्षकहरुसित बिदा लिई बागलुङ जाने बसमा सवार भयौं ।
‘कालो मोसो दल्ने योजना !’ मैले नौडाँडा, वीरेठाँटीको त्यो यात्राबाट र्फकेपछि धेरै दिनसम्म सम्झिरहें । मलाई पागलबस्ती नौडाँडामा बसाएको अभियोगमा कालो मोसो दल्न चाहने त्यस बेलाका युवाहरु कोको थिए होलान् ? अहिले तिनीहरु के सोच्तै होलान् ? मनमा खसखस लागिरहृयो । त्यसपछि पनि म एक-दुईपल्ट नौडाँडा पुगें तर पागलबस्तीका सन्दर्भमा कसैसित केही कुरा भएन ।
२०६५ साल । एक दिन ढिकुरपोखरीका युवा साहित्यकार रामचन्द्र अधिकारीले मलाई ‘साहित्यिक चौतारी’, ढिकुरपोखरीको तर्फबाट कार्यक्रममा ‘प्रमुख अतिथि’ बन्ने निम्ता दिए । मैले सहर्ष स्वीकार गर्दै भनें- ‘ढिकुरपोखरीको नौडाँडासित मेरो पहिलेदेखिको सम्बन्ध छ नि, थाहा छ कि छैन ?’
उनी थाहा पाएकै अन्दाजमा हाँसे । तोकिएको दिन बिहान हरिचोकमा जम्मा भई पोखराका तीन-चार दर्जन साहित्यकारहरुका साथ म नौडाँडातर्फ लागें, रिजर्भ बसमा सवार भएर । बस ढिकुरपोखरी गा.वि.स. भवनछेउ अडियो । हामी सभाकक्षतर्फ लाग्यौं ।
साहित्यिक चौतारीको कार्यक्रम आरम्भ भयो । मैले कार्यक्रममा उक्त संस्थाद्वारा प्रकाशित ‘बिसौनी’ पत्रिकाको लघुकथा विशेषाङ्क विमोचन गरें । त्यसपछि लघुकथा वाचन र मन्तव्यको क्रम चल्यो । कार्यक्रमको अन्तमा मेरो पालो आयो । मलाई महसुस भयो- कार्यक्रममा नौडाँडा र ढिकुरपोखरीका गण्यमान्य र अरु धेरै व्यक्तिहरुको उपस्थिति छ । त्यसैले मैले मौकाको सदुपयोग गर्दै पागलबस्तीबारे नमागिएको स्पष्टीकरण दिनुपर्छ । परिकल्पित पागलबस्ती क्षेत्रमा पागलबस्तीबारे बोल्न यसभन्दा उपयुक्त समय अरु के हुन सक्छ ?
मैले मन्तव्यको प्रारम्भमै यस क्षेत्रमा आˆना थोरै तर अविस्मणीय भ्रमणहरुको चर्चा गर्दै नौडाँडा बजारमा पहिलोपल्ट वास बस्ता कसरी ‘पागलबस्ती’ रचना गर्ने प्रेरणा प्राप्त भयो भन्ने यथार्थ सुनाएँ । साथै यो प्रेरणाका लागि नौडाँडाप्रति आभार प्रकट गर्दै भनें- ‘मलाई यो ठाउँ मन परेर यहाँ पागलबस्ती बसाएको हुँ । त्यसैले मलाई विश्वास छ, जजसले पागलबस्ती मन पराउनेछन्, तिनले नौडाँडालाई पनि मन पराउनेछन् ।
कार्यक्रमको समाप्तिपछि मलाई लाग्यो, नौडाँडाले मेरो कुराको मर्म बुझ्यो । मप्रति आत्मीयता प्रकट गर्दै केहीले भने- तपाईंले गर्दा हाम्रो ठाउँको चर्चा भएको छ । हामीलाई त खुसी लागेको छ ।
म धन्य भएँ । लाग्यो, अब मैले कसैलाई स्पष्टीकरण दिनु पर्दैन । नौडाँडा भन्दा मानिसहरु ‘पागलबस्ती’ सम्झनेछन्, ‘पागलबस्ती’ भन्दा मानिसहरुले नौडाँडा सम्झनेछन् । समयको गतिसँगसँगै यो सम्झनेहरुकोे सङ्ख्या बढ्दै जानेछ, बढ्दै जानेछ ।
0 Comments