विश्वकप फाइनलमा न्युजिल्यान्डले दियो १ सय ८४ रनको लक्ष्य
मेलबर्न- जारी एकदिवसीय क्रिकेटको फाइनलमा न्युजिल्यान्डले अष्ट्रेलियासामू १ सय ८४ रनको लक्ष्य प्रस्तु गरेको छ। टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ८३ रन बनायो। न्युजिल्यान्डका लागि ग्रान्ट इलियटले सर्वाधिक ८३ रन बनाए। उनले ८२ बलमा ७ चौका र १ छक्कासहित ८३ रन बनाएका हुन्।
चिरप्रतिद्वन्दी सहआयोजक र छिमेकी राष्ट्र अस्ट्रेलियाविरुद्ध मेलबर्न क्रिकेट मैदानमा भइरहेको फाइनलमा पहिलो विकेटका रुपमा न्युजिल्यान्डका कप्तान ब्रेन्डन म्याकलम आउट भए। मिचेल स्टार्कको बलमा उनी बोल्ड आउट भएका हुन्।
त्यस्तै, दोस्रो विकेटका रुपमा म्याक्सवेलको बलमा गुप्टिल आउट भए। तेस्रो विकेट स्वरुप अष्ट्रेलियाका जोन्सनले विलियमसनको विकेट झारेका हुन्। ३६औं ओभरमा जेम्स फलन्करले दुई विकेट लिएका छन्। उनले रोज टेलर र कोरी एन्डर्सनलाई आउट गरेका हुन्। टेलर ४० रन बनाएर आउट भए भने एन्डर्सन शून्मै आउट भए। छैटौं विकेट मिचेल स्टार्कले लिएका छन्। उनले लुके रोन्चीलाई शून्मै आउट गरेका हुन्। जोन्सनले ब्यक्तिगत दोस्रो तथा सातौं विकेट डेनियल भेटोरीका लिएका हुन्। भेटोरी ९ रन बनाएर पेभेलियन फर्किए।
न्युजिल्यान्ड पहिलोपल्ट एकदिवसीय विश्वकपको फाइनलमा पुगेको हो। छ पटक सेमिफाइनलमा पुगेको फाइनल प्रवेश गर्न चुकेको न्युजिल्यान्डले चारपटकको विश्वविजेता अस्ट्रेलियाको सामना गरिरहेको छ।
जारी प्रतियोगितामा भने ८ खेल जितेको न्युजिल्यान्ड एकमात्र अपराजित टोली हो। त्यसमध्येको एक जित समूह चरणमा अस्ट्रेलियाविरुद्ध पनि थियो। अकल्यान्डको इडेन पार्कमा १ सय ५२ रनको स्कोर बनेको उक्त खेलमा केन विलियम्सनले प्याट कुमिन्सको बलमा छक्का प्रहार गरेपछि न्युजिल्यान्ड एक विकेटले विजयी भएको थियो।
0 Comments