Breaking News

6/recent/ticker-posts

Header Ads Widget

सहारा बिकास बैंकले लगानीकर्तालाई १८ प्रतिशत बोनस शेयर र साढे दुई सय प्रतिशत हकप्रद शेयर दिने

सर्लाही जिल्ला मात्र कार्य क्षेत्र भएको सहारा बिकास बैंकले लगानीकर्तालाई १८ प्रतिशत बोनस शेयर र साढे दुई सय प्रतिशत हकप्रद शेयर दिने प्रस्ताव गरेको छ । चुक्ता पूँजी दुई करोड रुपैयाँ मात्र रहेको बैंकले पाँच करोड पुर्याउन हकप्रद र बोनस शेयर जारी गर्ने प्रस्ताव गरेको हो । आगामी चैत्र ३० गते हुने कम्पनीको चौथो बार्षिक साधारण सभाले पारित गरेमा हाल एक सय कित्ता शेयर रहेका लगानीकर्ताले १८ कित्ता बोनस शेयर पाउने छन् भने दुई सय पचास कित्ता शेयर प्रति कित्ता एकसय रुपैयाँमा माग गर्न पाउनेछन् ।

साधारणसभा प्रयोजनका लागी यस विकास बैंकको शेयर नामसारी तथा दाखिला खारिज कार्य चैत्र १५ गते देखि ३० गते सम्म बन्द रहने कम्पनीले जनाएको छ । नेपाल स्टक एक्सचेन्जमा चैत्र १३ गते सम्म कारोबार भई ७ कार्य दिन भित्र शेयर रजिष्ट्रार ग्लोबल आई.एम.ई. क्यापिटल लिबाट हक हस्तान्तरण गराउनेले मात्र साधारणसभामा भाग लिन र बोनस शेयर पाउनसक्ने जनाईएको छ । साधारणसभामा सर्वसाधारणतर्फका दुई संचालक सदस्यको निर्वाचन पनि हुने छ । बजारमा ६० हजार कित्ता मात्र साधारण शेयर रहेको र ती शेयरहरु धारण गर्ने केही सिमित ब्यक्तिहरुकोे संचालकको निर्वाचनमा उनीहरुकै पल्लाभारी हुने भएको छ । एक जिल्ले र साना बिकास बैंकहरुतर्फ शेयर बजारका लगानीकर्ताहरुको आकषर्ण बढिरहेको बेला सहाराले नयाँ चर्चा पाउनसक्छ ।

बैंकले आगामी बर्ष १० करोड चुक्ता पूँजी पुर्याएर तीन जिल्ला कार्य क्षेत्र विस्तार गर्ने भएको छ । अहिले एकैचोटी प्रोमोटरहरुले हकप्रद शेयरका लागि रकम जम्मा गर्न नसक्ने अबस्था आएपछि बैंकले अर्को बर्ष पनि मनग्गे बोनस र हकप्रद शेयर जारी गर्ने बाटो खुला राख्दै पूँजी बृद्धिको प्रस्ताव गरेको हो । बैंकको जगेडा कोषमा रहेको एक करोड ८१ लाख रुपैयाँ मध्ये ३८ लाख मात्र अहिले बोेनस र कर प्रयोजनमा खर्च हुने भएकाले यस बर्षको खुद नाफा समेत जोड्दा अर्को बर्षको साधारणसभामा अरु राम्रो प्रतिफल दिनसक्ने अबस्था रहेको छ । अर्कोतर्फ बैंकमा बैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स वापतको रकमले निक्षेप प्रबाहमा महत्वपूर्ण आधार दिएको छ ।

जगेडा कोषमा एक करोड ८१ लाख रुपैयाँ रहेको कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म ४८ लाख रुपैयाँ खुद नाफा गरी प्रति शेयर आम्दानी ४८ रुपैयाँ कायम गरेको छ । कम्पनीले चालु तेस्रो त्रैमासमा पनि अझै धेरै खुद नाफा बढाउने बैंकका एक अधिकारीले बताए । कम्पनीको निस्क्रिय कर्जा अनुपात ०.६५ प्रतिशत मात्र छ । हाल एनसीसी र एनआईसी एशिया बैंकसँग सम्झौता गरी बित्तीय कारोबारको दायरा बृद्धि गरेको बैंकले पूजी थपिएपछि लघुवित्तको क्षेत्रमा पनि हात हाल्ने सोच बनाएको छ । जिल्ला भित्र बैंकका मुख्य कार्यालयसहित चार शाखा छन् ।

Post a Comment

0 Comments