दर्शक दीर्घामा संन्यासीहरू थिए। मञ्चमा थिए मह, भजन गाउँदैमा व्यस्त। नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा शुक्रबार अपराह्न देखिएको यो दृश्य झट्ट हेर्दा धार्मिक स्तुतिजस्तो देखिन्थ्यो। तर महले गाएको भजनमा पूजा र आराधना होइन व्यंग्यको गुलियो चास्नी थियो।
भगवान् तिमीले हिमाल बनायौ पहाड बनायौ, तराई बनायौ नेताहरू राम्रो बनाउन किन तिमीले टाउको कनायौ?
उनीहरूको भजन गीत सुन्दा उद्योगपति उपेन्द्र महतोदेखि मुख्य सचिव लीलामणि पौडेल पनि ओशो तपोवनका संन्यासीहरूको हुलमा पेट मिचीमिची हँसिरहेका थिए। हाँसोलाई अझै उकास्न महले झनै बाक्लो व्यंग्य चास्नी चटाए,
भगवान् तिमीले भुँडी बनायौ
नाक बनायौ, कान बनायौ
नेताहरूको दिमागमा
किन तिमीले गोबर खन्यायौ?
नेताहरूलाई गरिएको यो व्यंग्य सुनेर सभामुख सुवासचन्द्र नेम्वाङले मुख रातो पारेनन्, बरु मुसुमुसु हाँसेर सहमतीमा मुन्टो हल्लाए।
तपोवन स्थापनाको २५ औं वर्षगाँठ मनाउने क्रममा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रहसन 'मडनको फोटो स्टुडियो' मा भाँडिएको राजनीतिमाथि व्यवस्थित व्यंग्य सुनेपछि सभामुखले
भने, 'यो माहोलले मन शान्त भयो।' तपोवनको जन्मदिवस मनाउन आएका भारतीय राजदूत रञ्जित रे पनि महको प्रहसनले नहाँसी बस्न सकेनन्।
ध्यान र अध्यात्मको विकासमा अहोरात्र लागेकामा तपोवनका जन्मदाता आचार्य स्वामी
आनन्द अरुणको प्रशंसा गर्दै पूर्वीय संस्कृतिमा समाजको विग्रहलाई रोक्न सन्त र ज्ञानीहरूको भूमिका सधैं हुने उनले बताए।
0 Comments