काठमाडौं– लापरबाहीपूर्ण गाडी चलाएर मोटरसाइकल चालकलाई ठक्कर दिँदा मृत्यु भएकोमा २ वर्ष कैद सजाय सुनाइएका चालक १८ वर्षपछि पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २०५३ मा फरार चालक शंकर केसीलाई पक्रेको हो।
ब्युरोका अनुसार काठमाडौं सिनामंगलमा केसीले चलाएको बाअख ४१२४ नम्बरको गाडीले विपरीत दिशाबाट आइरहेको बाअप ४०४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बोलगोपाल कर्माचार्यको मृत्यु भएको थियो।
केसीले गलत साइडमा ६८ किलोमिटर प्रतिघन्टा गतिमा चलाएको गाडी असन्तुलित भई मोटरसाइकललाई ठक्कर दिँदा कर्माचार्य घाइते भएका थिए। वीर अस्पतालमा उपचारक्रममा उनको मृत्यु भएको थियो। सो मुद्दामा २०५४ असार १६ गते पुनरावेदन अदालत पाटनले बस चालकको लापरबाही पुष्टि गर्दै २ वर्ष कैद फैसला गरेको थियो। फैसला आए पनि बौद्धका केसी पक्राउ परेका थिएनन्।
ब्युरो टोलीले उनलाई मंगलबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा बुझाएको थियो। अदालतले उनलाई कैद भुक्तानीका लागि मंगलबारै केन्द्रीय कारागार पठाएको छ।
0 Comments