Breaking News

6/recent/ticker-posts

Header Ads Widget

एसएलसीका केन्द्राध्यक्षले गरे आत्महत्या

१० चैत, इलाम । एसएलसी परीक्षामा केन्द्राध्यक्ष रहेका शिक्षक तथा सञ्चारकर्मी विमल प्रधानले विष सेवन गरी आत्महत्या गरेका छन् ।
प्रधान पूर्णस्मारक उच्च माध्यमिक विद्यालय गोदकका प्रधानाध्याक तथा जारी एसएलसी परीक्षामा वीरेन्द्र माध्यमिक विद्यालय आइतबारेका केन्द्राध्यक्ष थिए । उनी रेडियो नेपालवाणी एफएम इलाममा पनि आबद्ध थिए ।
प्रधानलाई समाल्बुङस्थित मेची खोलामा अचेत अवस्थामा फेला पारिएको थियो । उपचारका लागि झापाको मनमोहन मेमोरियल अस्पतालमा पुर्‍याउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
वीरेन्द्र माविका केन्द्राध्यक्ष रहेका प्रधान सोमबारको एसएलसी परीक्षा सकेर सम्पूर्ण कागजपत्र मिलाएर पशुपतिनगर पुगेका थिए । उनले आफूसँगै रहेका साथी बिनोद अधिकारीलाई ब्लुबुक र मोटरसाइकलको चावी दिएर घर पुर्‍याउन आग्रह गरेका थिए । त्यसपछि बेपत्ता भएका प्रधानलाई मेची खोला किनारमा फेला पारिएको हो ।
सँगै रहेका कर्फोक उच्च माविका स्रोत सहायक बिनोद अधिकारीले आफूलाई दिएको ब्लुबुक हेर्दा जीवनदेखि विरक्तिएर आफू हिँडेकोले नखोज्न आग्रह गरेको पत्र देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीयबासीको खोजीपछि उनी राति अचेत अवस्थामा फेला परेका थिए ।
मृतक प्रधानकी श्रीमती र दुई छोरा छन् ।
अर्का केन्द्राध्यक्ष चयन
वीरेन्द्र माविको केन्द्राध्यक्ष रहेका प्रधान अघिल्लो दिनदेखि बेपत्ता भएर रातभर खोज्दा पनि नभेटेपछि जिल्ला शिक्षा कार्यालय इलामले जय भण्डारीलाई केन्द्राध्यक्ष तोकेको जिल्ला शिक्षा कार्यालय इलामकी सुनिता योङहाङले अनलाइनखबरलाई जानकारी दिइन् । भण्डारीले नै मंगलबारदेखि परीक्षा सञ्चालन गरेका छ ।

Post a Comment

0 Comments