पाकिस्तानमाथि ६ विकेटको सहज जित निकाल्दै ४ पटकको विश्व च्याम्पियन अष्ट्रेलियाले विश्वकप क्रिकेटको सेमिफाइनलमा भारतसँगको भेट पक्का गरेको छ । विश्वकपको पहिलो संस्करणमै फाइनलमा पुगेको अष्ट्रेलिया समग्रमा सातौं पटक सेमिफाइनलमा प्रवेश गरेको हो ।
पाकिस्तानले प्रस्तुत गरेको २१४ रनको लक्ष्य अष्टे्रलियाले ३३.५ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो ।
ओपनर आरोन फिन्चलाई २ रनमै गुमाएको अष्टे्रलियाले अर्का ओपनर डेभिड वार्नरलाइ पनि सस्तैमा गुमायो । वार्नर २४ रनमा आउट भए ।
कप्तान माइकल कलार्क ८ रनमा आउट भए । लगातार विकेट झरेपछि दबावमा आएको अष्ट्रेलियाको इनिङ शेन वाट्सन र स्टिभ स्मिथले सम्हाले । उनीहरुले चौथो विकेटका लागि ८९ रनको साझेदारी गरे । ६९ बलको सामना गर्दा ७ चौका हानेका स्मिथ ६५ रनमा आउट भए ।
म्याक्सवेल र वाट्सनले पाँचौं विकेटका लागि अबिजित ६८ रनको साझेदारी गर्दै ६ विकेटको जित दिलाए ।
फिल्डिङमा कमजोर देखिएको पाकिस्तानका राहत अलीले शेन वाट्सनलाई ४ रनमा ड्रप गरेका थिए । त्यस्तै ग्लेन म्याक्सवेललाई ७ रनमा सोहेल खानले क्याच ड्रप गरेका थिए, जुन उसका लागि घातक बन्यो ।
म्याक्सवेल ४४ रनमा अविजित रहे भने वाट्सन ६४ मा नटआउट रहे । पाकिस्तानका लागि वाहब रियाजले २ तथा एसाले आदिल र सोहेल खानले समान १-१ विकेट लिए ।
यसअघि एडिलेड ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.५ ओभरमा २१३ रनमा अलआउट भएको थियो ।
पाकिस्तानको सुरुवात राम्रो हुन सकेन । पाकिस्तानको स्कोर २० रन हुँदा भरपर्दा ब्याट्सम्यान सरफराज अहमद आउट भए । उनी १० रनमा आउट भए । थप ४ रन जोड्दा अर्का ओपनर अहमद शेहजादलाई ५ रनमा गुमायो ।
कप्तान मिस्बाह उल हकलेे हृयारिस सोयलसँग तेस्रो विकेटका लागि ७३ रनको साझेदारी गर्दै पाकिस्तानलाई केहि आश दिलाए । सोयल (४१) तथा मिस्बाह (३४) लाई म्याक्सवेलले पभेलियनको बाटो देखाएपछि पास्किस्तानका लागि कुनै साझेदारी हुन सकेन् ।
उमर अकमल २० तथा सोहिब मकसुद २९ रनमा आउट भए ।
अष्टे्रलियाका जोश हृयाजलउडले ४ विकेट लिए । म्याक्सवेल र मिचेल स्टार्कले समान २-२ विकेट लिए । यसससँगै मिचेल स्टार्क १८ विकेटसहित जारी प्रतियोगितामा सवार्धिक विकेट लिने खेलाडीको सूचीमा पहिलो स्थानमा छन् ।
0 Comments