पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस शनिबार विभिन्न कार्यक्रमहरू गरी मनाइयो । नेपाली राजनीतिमा उनले खेलेको भूमिकाका बारेमा चर्चा-परिचर्चा पनि भयो । कोइरालाले करिब छ दशक लामो आफ्नो राजनीतिक जीवनमा अनेक किसिमका भूमिका निर्वाह गरे जसको सकारात्मक एवम् नकारात्मक पाटाहरूको इतिहासमा वस्तुगत मूल्यांकन हुने नै छ । तर, उनको मुख्य योगदान भनेको मुलुकलाई हत्या-हिंसाको अवस्थाबाट बाहिर निकाल्न नेतृत्वदायी भूमिका निर्वाह गर्नु नै हो ।
तत्कालीन शाही सरकारले माओवादीलाई आतंकवादी करार गर्दै टाउकाको मूल्य तोकेका बेला कोइरालाले विद्रोही नेतालाई भेटेर शान्ति प्रक्रियामा ल्याउन जुन भूमिका खेले त्यो उनको राजनीतिक जीवनकै सर्वाधिक सकारात्मक कदम हो । कुनै बेला उग्र कम्युनिस्टविरोधी छवि बनाएका कोइरालाले पछिल्लो समय कम्युनिस्टहरूसँगै सहकार्य गरे । त्यसो त हिंसाको अन्त्यका लागि कोइरालाप्रति प्रजातान्त्रिकदेखि कम्युनिस्ट सबै किसिमका राजनीतिक शक्तिहरूले विश्वास र भर गरे । अनि कोइरालाले दिल्ली पुगेर माओवादीसँग राष्ट्रिय मेलमिलापको अध्याय सुरु गरे । र,
बाह्रबुँदे सम्झौता गर्दै माओवादीलाई शान्तिपूर्ण प्रतिस्पर्धाको राजनीतिमा ल्याउन सफल भए । परिवर्तनबिना शान्ति र स्थिरता नआउने कोइरालाको निष्कर्षकै कारण मुलुकले गणतन्त्रको बाटो लिएको हो ।
कोइरालाको लोभलाग्दो पक्ष भनेको उनको निरन्तरको सक्रियता र अडान नै हो । प्रतिनिधिसभाको विघटनसँगै खलबलिएको राजनीतिक प्रक्रियालाई ँट्रयाक’ मा ल्याउन सर्वदलीय सरकारदेखि अनेकौं माग आएका थिए । यता कोइराला भने प्रतिनिधिसभाको पुनस्र्थापनाका पक्षमा थिए । सहयात्री दलहरूले कोइरालालाई सडक संघर्षमा छाड्दै सत्तामा गए, कांग्रेसभित्रै समेत सडक संघर्ष छाड्ुपर्ने चर्काे दबाब थियो । तर, कोइराला एक्लै हुँदा समेत विघटित प्रतिनिधिसभा पुनस्र्थापनाको माग छाडेनन् । अन्ततः पछि अन्य संसद्वादी राजनीतिक दलहरू पनि त्यही बिन्दुमा आउन बाध्य भए । र, आन्दोलनको बलले प्रतिनिधिसभाको पुनस्र्थापना पनि भयो । त्यही पुनः स्थापित सभाले राजाका अधिकार कटौती गर्नुका साथै धर्मनिरपेक्ष नेपालको घोषणा गर्यो ।
कोइरालाले शान्ति सम्झौता गर्दै माओवादी सशस्त्र युद्धको विधिवत् अन्त्य गराए । त्यसपछि संविधानसभाको निर्वाचनमा जान सबै राजनीतिक शक्तिहरूलाई सहमत मात्रै गराएनन्, गणतन्त्रको अगि्रम घोषणा गर्दै राजाको अधिकार क्रमशः कटौती गर्दै लगे । पछि संविधानसभाको पहिलो बैठकबाट गणतन्त्र नेपालको घोषणा गराए । शान्तिपूर्ण तरिकाले अभूतपूर्व परिवर्तन गराउन सक्ने राजनेताका रूपमा आफूलाई स्थापित पनि गराए । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रणालीजस्ता मुद्दाहरू कोइरालाले लिएको बाटोकै कारण स्थापित भएको हो ।
त्यसो त कोइरालाको नेतृत्व र अगुवाइमा सुरु भएको शान्ति प्रक्रिया अझै अन्त्य भएको छैन । संविधान निर्माण प्रक्रिया आधा बाटोमै अलपत्र परेको छ । र, शान्ति प्रक्रियाका दुई पक्षबीच बेमेल देखिन थालेको छ जसका कारण पनि यतिखेर कोइरालाको अभाव खड्किएको छ । सहमति र प्रक्रियाको रस्साकसीमा जेलिएको यो संविधान निर्माण र शान्ति प्रक्रियाको क्रममा कोइरालाको सम्झना हुन थालेको छ । जटिल राजनीतिक परिस्थितिमा कुशल नेतृत्व दिएकै कारण उनको आफ्नै पार्टीका नेतादेखि विपक्षी दलका नेताहरूले समेत उनको स्मरण गरेका हुन् । यो परिस्थितिमा सत्ता पक्षदेखि विपक्षी दलका नेताहरूसमेतले कोइरालाको नेतृत्वको अभाव महसुस गर्न थालेका छन् ।
यस हिसाबले अहिले संक्रमणकाललाई पार लगाउने कोइरालाजस्तै कुशल नेतृत्वको खाँचो छ । तर, राजनीतिक नेतृत्व एकाएक विकास हुने होइन, भएकै नेतृत्वले आफूलाई सक्षम प्रमाणित गर्ने हो । यो अवस्थामा कोइरालाको अभाव महसुस गर्ने मात्र होइन, उनले लिएको बाटो अनुसरण गर्ने बेला पनि हो । त्यो भनेको कोइरालाले सुरु गरेको शान्ति र संविधान निर्माणको प्रक्रियालाई पार लगाउने हो । त्यसका लागि समकालीन राजनीतिक नेतृत्वले एकापसमा सहकार्य गर्दै सहमतिको खोजी गर्ने हो । कोइरालाले देखाएको राष्ट्रिय एकता, मेलमिलाप र सहकार्यको बाटो हिंड्न सके मात्र उनीप्रति सच्चा स्मरण गरेको ठहरिने छ । यसतर्फ अहिलेको समकालीन राजनीतिक नेतृत्वले ध्यान केन्दि्रत गर्न आवश्यक छ ।
0 Comments