मङ्गलबार १० चैत्र, २०७१
अकल्यान्ड— विश्वकप क्रिकेटको सहआयोजक न्युजिल्यान्ड दक्षिण अफ्रिकालाई ४ विकेटले हराउँदै फाइनल प्रवेश गरेको छ। अकल्यान्ड मैदानमा एक समय धर्मराएको घरेलु टोलीलाई ग्रान्ट इलियोटको आक्रमणक ब्याटिङले विजयको बाटो देखाएको हो। उनले अन्तिम २ बलमा ५ रन आवश्यक रहेको अवस्थामा छक्का प्रहार गर्दै आफ्नो टोलीलाई एक बल बाँकी हुँदै नयाँ इतिहास बनाउन सार्थक मद्दत गरे।
न्युजिल्यान्डको जितमा महत्वपूर्ण ५८ रन बनाएका एन्डरसन
मार्टिन गुप्तेल ३४ रन बनाएर आउट भए। ३८ बल सामना गरेका उनले ३ चौका र एक छक्का प्रहार गरे। म्याक्लुमले विस्फोटक ब्याटिङ गर्दै २६ बलमा ४ छक्का र ८ चौकाको मद्दतले ५९ रन बनाए। सिजे एन्डरसनले ५८ रनको योगदान दिए।
न्युजिल्यान्डको जितका सुत्रधार ग्रान्ट इलियोट। उनले नटआउट ८४ रन बनाए।
ग्रान्ट इलियोटले ७३ बल सामना गर्दै ८४ रन बनाए। ३ छक्का ७ चौका प्रहार गरेका उनले जितका लागि दुई बलमा ५ रन आवश्यक रहँदा टोलीका लागि निर्णायक छक्का प्रहार गरेका थिए।
यसअघि ओभर घटाइएको खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई २९८ रनको चुनौती दिएको थियो। वर्षाका कारण ४३ ओभरमा खेलाइएको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले ५ विकेट क्षतिमा २८१ रन बनायो। डिएल मेथडअनुसार न्युजिल्यान्डले २९८ रनको चुनौती पाएको थियो।
३८ ओभरमा खेल भइरहँदा वर्षाले खेल अवरुद्ध भएको थियो। त्यसपछि ५० ओभरको खेललाई ४३ ओभरमा खेलाउने निर्णय गरिएको थियो।
दक्षिण अफ्रिकाका प्लेसिस। उनले ८२ रनको योगदान दिए।
१०७ बल सामना गरेका प्लेसिसले दक्षिण अफ्रिकाका लागि ७ चौका र १ छक्का प्रहार गर्दै ८२ रन बनाए।
दक्षिण अफ्रिकाका ब्याट्सम्यान डे भिलियर्स। उनले नटआउट ६५ रन बनाए।
४५ बल सामना गरेका डे भिलियर्सले नटआउट ६५ रन बनाए। ८ चौका र १ छक्का मद्दतले उनले सो स्कोर बनाएका हुन्।
दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले विस्फोटक ब्याटिङ गरे। उनले १८ बलमा ४९ रन बनाए। उनले ६ चौका र ३ छक्का प्रहार गरे।
मौसम अनुमान लगाउन कठिन भनिएको अकल्यान्डमा आज मौसम खराब हुनसक्ने पूर्वअनुमान गरिएको थियो।
0 Comments