काठमाडौँ, १२ चैत्र ।
‘एनसेल नेपालकै लागि’ भन्ने नारा लगाएर ‘एनसेल ठग्नकै लागि’ भन्न सुहाउने व्यवहार गर्दै आएको टेलिया सोनेरा नामक विदेशी कम्पनीको लगानीमा सञ्चालित दूरसञ्चार सेवाप्रदायक एनसेलले कसरी अवैधानिक तरिकाबाट ठग्दै र लुट्दै आएको छ धेरैलाई थाहा छैन । त्यसले यसरी खुलेआम ठगी धन्दा गर्दा नेपाल सरकारचाहिँ के हेरेर बसेको छ भन्ने प्रश्नको जवाफ अहिलेसम्म पाइएको छैन । हुन पनि एनसेलले अनुमति नै नलिई यति धेरै ठगी स्टेसन खडा गरेको छ कि त्यसको जालो बुझिनसक्नुको छ ।
यस्तै अखडामध्येको हो ‘टेलिसेल्स’ । टेलिसेल्स सञ्चालनमा आएको दुईवर्ष भन्दा बढी भइसक्यो । यसले यसबीच कति नेपालीलाई ठग्यो लेखाजोखा छैन । यो त्यस्तो गैरकानुनी ठगी केन्द्र हो जसले आजसम्म राज्यको कुनै निकायमा आफ्नो उपस्थिति देखाएकै छैन । यतिसम्म कि स्वयं एनसेलको आधिकारिक वेबसाइटमा समेत टेलिसेल्स र यसका कार्यबारे कहीँ–कतै उल्लेख छैन । तैपनि, टेलिसेल्सका लागि भनेर एनसेलले नै खडा गरेको ‘रोलिङ प्लान कन्सल्ट’ नामक थापाथलीस्थित कामदार भर्ति केन्द्रले धमाधम कर्मचारी सप्लाइका लागि सूचना प्रकाशन गरिरहेको छ ।
एनसेलले टेलिसेल्सलाई यति सक्रिय रूपमा राखेको छ कि यदि तपाईंले एनसेलमा रिचार्ज गर्नुभयो भने तुरुन्त उताबाट कल आउँछ वा म्यासेज आउँछ, ‘फलानो फलानो प्याकेज किन्नुहोस् ।’ अझ यतिसम्म भन्न भ्याउँछ ‘यी यी सेवा तपाईंहरूकै लागि मात्र बनाइएको हो । एकैछिनमा किन्नुभयो भने यति डाटा र यति रुपैयाँको कल निःशुल्क पाउनुहुनेछ ।’ तर त्यो डाटाको मूल्य र कलमा भएको खर्चबारे उनीहरूले कहिल्यै जानकारी गराउँदैनन् । सेवाप्रदायकले अनावश्यक रूपमा फोन गरेर ग्राहकलाई डिस्टर्व गर्न पाउँदैनन् तर ५० देखि १ सय ५० रुपैयाँसम्मका सेवा भिडाउने एनसेलले ग्राहकको रिचार्ज भएको देख्नासाथ अफिसबाट फोन गरेर ‘तुरुन्तै हाम्रो फलानो, फलानो सेवा किन्नु भयो भने सयको डाटा ५० र सयको कल ९० रुपैयाँमै दिन्छौं’ भन्दै ग्राहकलाई कहिल्यै काम नलाग्ने तथा उसले नचलाउने सेवा भिडाएर हदैसम्म मूर्ख बनाउने गरेको छ ।
तपाईंको गोपनीयताको त यसले धज्जी नै उडाउँछ र अझै नपुगेर ग्राहकले रिचार्ज गर्नासाथ फोन गरेर आफूखुसी ‘हामीले हजुरका लागि हालै गरेको रिचार्जबाट प्याकेज किनिदिएका छौँ , हस् त धन्यवाद !’ भन्दै ग्राहकको पैसा खर्च गर्ने र अनावश्यक चियोचर्चा गर्नेसमेत गरेको छ । रमाइलो कुरा त के छ भने यदि आफू ठगिएको थाहै भयो भने पनि त्यसको उजुरी गर्ने ठाउँ कहीँ–कतै छैन । किनकि त्यो आधिकारिक रूपमा सञ्चालित सेवा नै होइन । त्यसमाथि कानुनी रूपमा हेर्ने हो भने ग्राहक सेवाकेन्द्रबाहेक अन्य यस्ता संस्था वा निकाय कुनै सेवाप्रदायकले चलाउनै पाउँदैनन् । त्यसैले त कुनै दायित्व बोक्नै नपर्ने गरी रोलिङ प्लान कन्सल्टले अस्थायी कर्मचारी पठाउँछ र त्यस प्रक्रियामा पनि बेरोजगार नेपाली युवालाई ठग्छ । यसरी एउटा विदेशी कम्पनीबाट दैनिक लाखौँ सोझासीधा नेपाली ठगिइरहँदा राज्य मौन बसेको देखेपछि हालसालै प्रधानमन्त्रीसमक्ष सर्वसाधारणको तर्फबाट उजुरी पनि पर्न थालेको छ ।
मन्त्रिपरिषद् कार्यालयमा जाहेर उजुरीमा प्रश्न छ, ‘यस्ता अवैधानिक सेवा सञ्चालन गरी अबौँ कमाउने ती कम्पनी तथा यस्ता देशद्रोही सेवा सञ्चालन गर्न अनुमति दिने निकायउपर कुनै कारबाही गर्न नेपाल सरकार सक्षम छ ?’ त्यहाँ स्पष्ट माग पनि छ, ‘यदि सक्षम छ भने नेपाली जनतालाई सो कारबाहीको विवरणको स्पष्ट जानकारी गराई पठाउन यो निवेदन गरेका छौं ।’
जनआस्था साप्ताहिकबाट ।
0 Comments