Breaking News

6/recent/ticker-posts

Header Ads Widget

राष्ट्रिय वाणिज्य बैंकको पौने तीन अर्बको सेयर आउँदै

काठमाडौं—सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले करिब २ अर्ब ७० करोड रुपैयाँबराबरको सेयर सर्वसाधारणलाई बिक्री गर्ने तयारी गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माको संयोजकत्वमा गठित सिफारिस समितिले यससम्बन्धी प्रतिवेदन तयार गरी अर्थ मन्त्रालयमा पठाएको छ ।
बैंक र अर्थ मन्त्रालयका उच्च पदाधिकारी रहेको ४ सदस्यीय समितिले बैंकमा रहेको सरकारको स्वामित्व घटाएर सर्वसाधारणलाई सेयर दिनुपर्ने कारणसहितको प्रतिवेदन अर्थमा बुझाएको हो ।

प्रतिवेदनमा बासेल थ्री अनुसार पनि सर्वसाधारणलाई ३० प्रतिशत सेयर दिनुपर्ने सुझाव दिइएको छ । 'सर्वसाधारणमा सेयर जारी गर्नुपर्ने कारणसहितको प्रतिवेदन अर्थ मन्त्रालयमा पठाएका छौं,' समितिका संयोजक तथा प्रमुख कार्यकारी अधिकृत शर्माले मंगलबार नागरिकसँग भने । अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार मन्त्रालयले सामान्य संशोधन गर्दै स्वीकृतिका लागि मन्त्रिपरिषद पठाउने तयारी गरिरहेको छ ।

बैंकले ९ अर्ब जारी पुँजीमध्ये ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । सर्वसाधारणलाई ३० प्रतिशत सेयर वितरण गरेपछि बैंकमा ७० प्रतिशत सेयर मात्र सरकारको हुने छ । बैंक तथा वित्तीय संस्था ऐन २०६३ अनुसार पनि चालु आर्थिक वर्षभित्र सर्वसाधारणमा सेयर जारी गर्न लागिएको हो ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ छ । सर्वसाधारणमा सेयर जारी गरिसकेपछि बैंकको स्वामित्व र पुँजी संरचना परिवर्तन भई पुँजी आधार सबल हुने र सर्वसाधारणको सहभागिताबाट बैंकले थप उचाइ हासिल गर्ने शर्माको भनाइ छ । उनले भने, 'बैंकको प्रतिस्पर्धात्मक क्षमता बढ्नेछ ।'

बैंकको कुल निक्षेप १ खर्ब ३ अर्ब र कुल कर्जा ६५ अर्ब रुपैयाँ छ । बैंकले पुस मसान्तसम्म ३ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले ब्याज आम्दानी, नेपाल इन्भेस्टमेन्ट बैंक (एनआइबिएल) र नेपाल आवास कम्पनीको सेयर बिक्री गरेर सो नाफा कमाएको बैंकका ट्रेजरी विभागका प्रमुख भुपेन्द्र पाण्डेले बताए ।

बैंकले एनआइबिएलको प्रतिसेयर न्यूनतम मूल्य ४ सय रुपैयाँमा बिक्री गरेको थियो । यसैगरी नेपाल आवास फाइनान्स कम्पनी लिमिटेडको प्रतिसेयर १ सय १ रुपैयाँमा बिक्री गरेको थियो ।

बैंकको ३३ प्रतिशत नकारात्मक रहेको पुँजी पर्याप्तता अनुपात १०.०५ मा झरेको छ । एनआइबिएलको १५ प्रतिशत संस्थापक सेयर बिक्री गरेपछि बैंकले पुँजीकोष राष्ट्र बैंकले तोकेको अनुपातमा पु¥याएको हो । बैंकले विगत १० वर्षदेखि लगातार नाफा कमाएको शर्माले जानकारी दिए ।

कर्जा असुलीका लागि बैंकले विशेष योजना ल्याएको छ । भाखा नाघेको कर्जालाई कुनै न कुनै रुपमा टुंगोमा पु¥याउने लक्ष्य बैंकले लिएको छ । बैंकले स्वर्ण जयन्ती वर्षमा भाखा नाघेको ३ अर्ब कर्जा असुली गर्ने लक्ष्य लिएको छ ।

यसैगरी कर्जामा उल्लेख्य वृद्धि गर्ने र उच्च तरलता प्रशोचन गर्ने कार्ययोजना पनि अघि सारेको छ । शाखा पुनस्र्थापना, कार्यक्षेत्र विस्तार, विद्यार्थी लक्षित सेवा, बैंकिङ सेवालाई चुस्त, स्तरीय र ग्राहकमैत्री बनाइने, लघुवित्त तथा दुर्घटना बिमा सेवा, संस्थागत सुशासन एवं ग्राहक सेवालगायत कार्यक्रम ल्याउने बैैंकले बताएको छ ।

बैंकले किसानलाई ५ प्रतिशत ब्याजदरमै ऋण दिने छ । सरकारको ४ प्रतिशत ब्याज अनुदान लिएर बैंकले ५ प्रतिशत ब्याजदरमै ऋण दिने व्यवस्था मिलाएका हो ।

बैंकले देशका ६८ जिल्लामा १ सय ५९ शाखा कार्यालय, २८ शाखारहित बैंकिङ र ८० एटिएममार्फत प्रत्यक्ष रुपमा २० लाख बढी ग्राहकलाई सेवा पु¥याइरहेको छ ।

२ हजार ६ सय कर्मचारीको प्रयासबाट आफ्ना परिसूचकहरुमा आमुल परिवर्तन ल्याई प्रतिस्पर्धी बजारमा एक सक्षम, सबल र प्रतिस्पर्धी बैकको रुपमा उभ्याउन सफल भएको बताएको छ ।

बैंक स्थापना भएको ५० वर्ष पुुगेको छ । यसै उपलक्ष्यमा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक तथा परोपकारी काममा संलग्न संघ–संस्थालाई आर्थिक सहयोग, छात्रवृत्ति वितरण, स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको छ । बैंकको स्वर्णजयन्ती वर्षभरि गरिब असहायलाई निःशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस रक्तसञ्चार केन्द्रलाई १३ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । यस्तै मिर्गौला रोगको उपचारमा सहयोग पु¥याउन १० लाख रुपैयाँको मिर्गौला रोग उपचार कोष खडा गरेको बैंकले बताएको छ । यसैगरी, ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकले यस बैंकमा खोल्ने बचत खातामा प्रचलित दरभन्दा ०.५ प्रतिशत बढी ब्याज दिने जनाएको छ । एकल महिलाले खोल्ने बचत खातामा प्रचलित दरभन्दा ०.५ प्रतिशत बढीले ब्याज र लाख रुपैयाँसम्मको दुर्घटना बिमा गरिने छ । अल्पसंख्यक तथा लोपोन्मुख जातिका विद्यार्थीलाई प्रमाणपत्र र स्नातक तह अध्ययनको लागि प्रतिविद्यार्थी मासिक ५ हजार रुपैयाँका दरले १० जनालाई छात्रवृत्ति प्रदान गरिने छ ।

Post a Comment

0 Comments