Breaking News

6/recent/ticker-posts

Header Ads Widget

स्वस्थ रहन ध्यान गरौं

काठमाडौं-कुनै व्यक्ति रोगी हुनुको पछि तनावसहितको जीवनशैली मुख्य कारक रहेकाले आनन्दित जीवन बनाउन ध्यानको सहारा लिन विशेषज्ञ चिकित्सकले सुझाएका छन्। ओशो तपोवनको २५ औं रजतजयन्तीका अवसरमा आयोजित ‘मेडिटेसन या मेडिकेसन' विषयक अन्तर्क्रिया कार्यक्रममा प्रस्तुति गर्दै विभिन्न विशेषज्ञ चिकित्सकले यस्तो सुझाव दिएका हुन्।

तनावपूर्ण जीवनशैलीले मुटुरोग, उच्च रक्तचाप, डिपे्रसन, हृदयघात, पक्षघात, थाइरायड, रोगसँग लड्ने प्रतिरक्षा शक्ति कमजोर हुने लगायतका गम्भीर रोग लाग्नमा भूमिका हुने भएकाले ध्यान गर्न उनीहरुले सुझाए।

नर्भिक अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भरत राउतले कम्प्युटरको भाइरस हटाउन एन्टी भाइरस चाहिएजस्तै मानिसको मस्तिष्कको भाइरस हटाउन ध्यानले एन्टी भाइरसको काम गर्ने बताए। ‘अहिलेको मानिसलाई हृदयघातभन्दा पनि विचारघात भइरहेको छ,' उनले भने। ‘ध्यान गलत विचारलाई हटाउने उपाय हो,' उनले भने।

तीव्र गतिको जीवनशैली पछ्याउने क्रममा अत्यन्त धेरै अनावश्यक विचारबाट प्रभावित हुन जाँदा त्यसबाट मानिसको मस्तिष्कमा भार पर्न गई मुटुरोग लाग्ने उनले बताए। आफूसँग स्वास्थ्य जचाउन आउने कतिपय बिरामीलाई सकेसम्म ध्यान गर्न सुझाव दिए पनि औषधि नदिएसम्म नमान्ने प्रवृत्ति रहेको उनले सुनाए। उनले भने, ‘औषधि नलेखेसम्म बिरामीले उपचार भएको ठान्दैनन्।' अनुसन्धानका अनुसार ध्यान गर्नेमा ४८ प्रतिशतलाई हृदयघात र पक्षघाट नभएको डा. राउतले जानकारी दिए।

बरिष्ठ मानसिक रोग बिशेज्ञ डा. कपिलदेव उपाध्यायले पनि मानसिक रोगबाट बच्न समेत ध्यानकै सहारा लिन सुझाए। ‘तनाव नै धेरै मानसिक रोगको कारण हो,तनाव घटाउने उचित औषधी नै ध्यान हो'उनले भने। मस्तिष्कको अवस्थाले शरिरलाई प्रभाव पार्ने भएकोले बिकृति मानसिकताको परिणाम नै धेरै रोग लाग्ने मनोचिकित्सकको निश्कर्ष भएको उनले धारणा राखे। ‘ध्यानले दिमागलाई तालिम दिएरै परिवर्तन गर्न सकिन्छ'उनले भने। एउटा मानिसको जीवनमा दैनिक ६० देखि ७० हजार बिचार आउने त्यसको व्यवस्थापन गर्ने उपाय नै ध्यान भएको डा. उपाध्ययाले सुझाए।

ब्रेन तथा जीवन व्यवस्थापन बिशेषज्ञ डा. नबल पंजियारले बिचार र सोंचाईको परिणामले नै मानिस दुःखी हुने भएकोले यसको व्यवस्थापन गर्ने उपाय नै ध्यान भएको धारणा राखे। ‘वर्तमानमा जिउन सिकौं,बितेको घटना र भविष्यको चिन्तामा नडुवौं'उनले भने।

दिवसको अवसरमा तपोवनले रक्तदान कार्यक्रमको आयोजन गरेको थियो। ३५ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ। जयन्तीकै अवसरमा राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा लगातार तीनसम्म बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ।

Post a Comment

0 Comments