चैत, काठमाडौं । विश्वकप फुटबल २०१८ को प्रारम्भीक छनोटमा भारतसँगको नेपालको ‘होम गेम’ दिउँसो हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार पत्रकार सम्मेलन गरी ३ गते हुने खेल दिउँसो साढे ३ बजे हुने जानकारी दिएको हो ।
गुवाहटीमा भएको खेल भने साँझ फ्लोर लाइटमा भएको थियो । उक्त खेल नेपालले २-० ले गुमाएको थियो ।
एन्फाका अनुसार प्रतियोगिताको सबै तयारी पूरा भइसकेको छ । भारतीय टीम काठमाडौं आइसकेको छ भने फिफा रेफ्रीहरु आइतबार साँझ आइपुग्नेछन् ।
१० हजार टिकट बिक्री गरिने
एन्फाले यो पटक १० हजार टिकट बिक्री गर्दैछ । दशरथ रंगशाला मर्मतकै क्रममा रहेका साधारण प्याराफिटतर्फ ८ हजार र भीआइपीतर्फ २ हजार टिकट बिक्री गरिने महासचिव धिरेन्द्र प्रधानले जानकारी दिए ।
खेल हुने दिन विहान ८ बजेदेखि १२ बजेसम्म दशरथ रंगशालामै टिकट बिक्री गरिनेछ ।
साधारण प्याराफिटतर्फ टिकटको ७०० रुपैयाँ तोकिएको छ भने भीआइपीतर्फ १५०० रुपैयाँ छ । विगतको अनुभवका आधारमा मूल्य तोकिएको कार्यबाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताका लागि एन्फालाई फिफाले ३ लाख डलर दिने भनिएको छ । तर, रकम आइनसकेकाले अहिले आन्तरिक स्रोतबाट जुटाइने श्रेष्ठले बताए ।
0 Comments